विप्लवका पूर्वी सैन्य इन्चार्ज बोहरा एक दर्जन बम विस्फोट घटनामा संलग्न 

विप्लवका पूर्वी सैन्य इन्चार्ज बोहरा एक दर्जन बम विस्फोट घटनामा संलग्न 

जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार अपराह्न पक्राउ गरेका विप्लव समूहका पूर्वी कमाण्ड सैन्य इन्चार्ज करिब एक दर्जन बम विस्फोटका घटनामा संलग्न भएको खुलेको छ। 

प्रहरीले मोरङ उर्लाबारी नगरपालिका-३ बसिरहेका ४० वर्षीय नन्दबहादुर बोहरालाई पक्राउ गरेको थियो। उनी कालिकोट फेनेलीका हुन्। 

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बोहराको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्री राइफलको तीन थान गोली, सकेट बम, बम विस्फोटमा प्रयोग हुने इलेक्ट्रिक डेटोनेटरलगायत बरामद भएका छन्। 

खड्काका अनुसार बोहरा पूर्वभरि बम विस्फोट गराउँदै हिँडेका व्यक्ति हुन्। २०७४ सालयता उनले विभिन्न नौ ठाउँमा बम विस्फोट गराएको पाइएको छ। 

अनुसन्धानअनुसार बोहराले मोरङ पथरी शनिश्चरे नगरपालिका-१ पूर्व-पश्चिम राजमार्गको दक्षिण पानीट्याङ्की छेउमा २०७४ चैत ११ गते सुतली बम राखेका थिए। 

बोहराले २०७६ जेठ १३  गते सुन्दरहरैंचा नगरपालिका-७ ठडियास्थित दिपशिखा माछा घरअगाडि पाथीभरा टोल पूर्व-पश्चिम राजमार्ग दक्षिण किनारमा रहेको बिजुलीको पोल नजिकै प्रेसर कुकर बम राखेका थिए।

बोहराले २०७६ माघ ५ गते मिक्लाजुङ गाउँपालिका-१ साकेलाथानस्थित किसानचौक टाँडी-रमिते-आइतबारे सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका तीनवटा स्काभेटरमा बम विस्फोट गराएका थिए। 

बोहराले २०७६ माघ १० गते केराबारी गाउँपालिकाको कार्यालयमा र १२ गते केराबारी गाउँपालिका वडा नम्बर-२ को एनसेल टावरमा बम बिस्फोटन गराएका थिए। 

उनले २०७६ भदौ २३ गते राति झापा बिर्तामोड-२ को सहारा नेपाल बचत तथा ऋण सहकारीको निर्माणाधीन कार्यालयको कम्पाउन्ड र गार्ड रुमको बीचमा प्रेसर कुकर बम विस्फोट गराएका थिए।  

२०७६ भदौ २० गते बिहान उनले इटहरी-९ को सुष्मा गोदावरी स्कुलको पर्खालमा प्रेसर कुकर बम विस्फोट गराएका थिए। 

यस्तै, उनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउन्डभित्र रहेको दिल्ली पब्लिक स्कुलमा २०७६ असार ५ गते बम विस्फोट गराएका थिए। 

उनी भोजपुर, संखुवासभा, उदयपुर, सुनसरी, मोरङ, झापा जिल्लामा हातहतियारसम्बन्धी विभिन्न घटनामा समेत रहेको प्रहरीको भनाइ छ। 

प्रहरी उपरीक्षक खड्काका अनुसार बोहरालाई बम विस्फोट, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान भइरहेको छ।


Leave a Reply

Your email address will not be published.