विप्लवको नाममा चन्दा माग्ने दुईजना पक्राउ

विप्लवको नाममा चन्दा माग्ने दुईजना पक्राउ

दाङमा आठ लाख बढी रकम चन्दा मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पश्चिम दाङको बबई गाँउपालिका- ५ हापुरे बजारमा गौतम ट्रेडर्स एण्ड सप्लायर्स सञ्चालन गर्ने २६ वर्षीय ललित गौतमसँग ८ लाख ६५ हजार रुपैयाँ चन्दा माग्ने हापुरेकै दुई व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा बबई गाउँपालिका-५ निवासी १९ वर्षीय केवल भन्ने कृष्ण वली र २८ वर्षीय भाष्कर वली रहेका छन्। प्रहरीले घट्नास्थलमा प्रयोग भएको एक थान सादा मोबाइल सेट र अपराधमा प्रयोग गरिएको सिमसहित नियन्त्रणमा लिएको छ। 

पक्राउ परेका व्यक्तिलाई दाङ देउखुरी अदालतबाट म्याद थप गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ (आपराधिक लाभ) अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले असार २४ गते विप्लव पार्टीको नामबाट ८ लाख ६५ हजार तिन दिनभित्र दिन माग गर्दै घरको मूल ढोकामा पत्र छोडेका थिए।

तीन दिनभित्र उक्त रकम नपाएपछि उनीहरूले २६ गते राती ११ बजेतिर ललित गौतमका बुबा निमाकान्त गौतमलाई फोन गरी माग बमोजिमको रकम दिन धम्काउँदै नदिए मारिदिने बताएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सिंहले जानकारी दिए।

‘उनीहरूले पटक-पटक फोन गरी बिभिन्न प्रकारका धम्की दिने र नदी मार्नेसम्मको धम्की दिएका रहिछन्,’ उनले भने, ‘आफू र परिवारको सुरक्षाका लागी उक्त कुरा बाहिर नल्याई ५० हजार चन्दा दिनसमेत तयार भएका रहिछन्, तर उनीहरूले पचास हजार कम भएको भन्दै लग्न नमानेको देखिन्छ।’ 

रकममा बार्गेनिङ भैरहेको गोप्य सूचना प्रहरीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई  असार २९ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.