कांग्रेसको प्रश्न- प्रधानमन्त्री पद व्यक्तिकाे जमिन्दारी कि देशको जिम्मेवारी?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धारणा मागेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकार र पार्टीको धारणा मागेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत नभए ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको प्रष्ट हुने कांग्रेसको भनाइ छ।
ओलीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको कांग्रेसले जनाएको छ। ओलीका अभिव्यक्तिले केही गम्भीर प्रश्न सिर्जना गरेको प्रवक्ता शर्माले बताएका छन्।
'प्रतिपक्षी दलकाे तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भएको छ। देशको प्रधानमन्त्रीका अभिव्यक्तिले देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी?', कांग्रेसले प्रश्न गरेको छ।