थाहा सर्वोत्कृष्ट नगरपालिका

थाहा सर्वोत्कृष्ट नगरपालिका

मकवानपुरको थाहा नगरपालिका देशकै सर्वोत्कृष्ट नगरपालिका बन्न सफल भएको छ। आर्थिक वर्ष २०७५/७६ मा सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई देशभरकै सर्वोत्कृष्ट घोषणा गरेको हो।  

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फर्छ्योट गरेको छ। २०७५/७६ को लेखा परीक्षणबाट जम्मा २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट नगरपालिका बनेपछि मन्त्रालयले पुरस्कृत गरेको छ। 

असार ३० गते नेपाल सरकार सचिव स्तरको निर्णयबाट निर्णयसहित सर्वोत्कृष्ट घोषणा भएको हो। बेरुजु फर्छ्योट कार्ययोजना र मार्गदर्शन अनुसार उक्त कार्यमा सहभागी कर्मचारीहरूलाई प्रशंसापत्रसहित पुरस्कृत गर्ने मन्त्रालयले निर्णय गरेको छ। 

अघिल्लो आर्थिक वर्ष देशभरको उत्कृष्ट ४ मा पर्न सफल थाहा नगरपालिका यस वर्ष मुलुकभरको ७ सय ५२ स्थानीय तहलाई पछि पार्दै बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट घोषित भएको हो।

महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा ४ प्रतिशतभन्दा कम बेरुजु हुने कार्यालयलाई आर्थिक अनुशासन राम्रो भएको मानिन्छ। तर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा कार्यालयको बेरुजु जम्मा २.५४ प्रतिशत मात्र कायम गरेको छ।

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७४/०७४ सम्मको नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्नुपर्ने ६४ लाख ४ हजार र पेस्की ७६ लाख ८९ हजार गरी जम्मा १ करोड ५५ लाख ६५ हजार पेस्की बाँकी भएकोमा नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्ने ६० लाख १३ हजार र पेस्की फर्छ्यौट ७४ लाख ६७ हजार गरी कुल १ करोड ४९ लाख ५२ हजार बेरुजु फर्छ्यौट भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।

नगरपालिकाको तर्फबाट उल्लेख्य कार्य गरेकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुसाललाई मन्त्रालयले जनही ५ हजार पुरस्कार र सम्मान पत्र प्रदान गरेको छ।  

नगरपालिका पुरस्कृत भएपछि नगरप्रमुख लवशेर विष्टले यस कार्यमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन्।

उनले उपलब्धिलाई सधैं जोगाइराख्न समेत कर्मचारीहरूलाई अनुरोध गरे। आर्थिक अनुशासनमा देशमै सर्वोत्कृष्ट घोषित भएकोमा नगर प्रमुख विष्टले सबैप्रति आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published.