जाँदाजाँदै बाहिरिएको सशस्त्रका एसएसपीको कर्तुत

जाँदाजाँदै बाहिरिएको सशस्त्रका एसएसपीको कर्तुत

सशस्त्र प्रहरीका १७ एसएसपीको सरुवा सूची मंगलबार सार्वजनिक भयो। त्यही सूचीको सातौं नम्बरमा एसएसपी राजेन्द्रकुमार अधिकारीको नाम छ। सशस्त्र तालिम शिक्षालय लामापाटन पोखराबाट सरुवा भइ उनी बिहीबार प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग जानुपर्ने थियो। काठमाडौं जान ठिक्क परेका उनै अधिकारीमाथि बुधबार बलात्कारको आरोप लाग्यो। 

बलात्कार आरोप लगाउने चितवनकी २७ वर्षे युवतीले एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर बलात्कार गरेको प्रारम्भिक बयान दिएकी छन्।  खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधी खुलाएर जबरजस्ती करणी गरेको युवतीले बताएकी छन्। 

‘मलाई सशस्त्रको एसएसपीले बलात्कार ग-यो। खाना खान बोलाएर जबरजस्ती ग-यो,’ आरोप लगाउने युवतीले दिउँसो ३ बजे कन्ट्रोल रुममा फोन गरेर भनिन्। कन्ट्रोल रुममा बसेका प्रहरी तत्काल कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई विवरण सुनाए। 

एसपी श्रेष्ठले ती युवती भएको ठाउँमा प्रहरी परिचालन गरे। आरोप लगाउने युवती फेरा परिन्। उनलाई मेडिकल गर्न पठाउने आदेश दिएर एसपी श्रेष्ठले वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली लामापाटन पठाए। तर बलात्कार आरोपित एसएसपी अधिकारी भेटिएनन्। फेरि एसपीले जिल्ला प्रहरी कार्यालय कै डिएसपीको नेतृत्वमा अर्को टोली खटाए।

सशस्त्र प्रहरी बलका उपल्लै स्तरका अधिकारीमाथि यस्तो गम्भीर आरोप लागेपछि एसपी श्रेष्ठ आफूभन्दा माथिको निकायमा खबर गर्न व्यस्त थिए। तर अधिकारी फेला परेनन् भनेपछि अर्को तनाव सुरु भयो। लगत्तै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिआइजी घनश्याम अर्यालले एसपी श्रेष्ठलाई आफैं फिल्डमा जान आदेश दिए। 

‘फोन आएपछि हामी गयौं। सुरुमा त्यहाँ भेटेनौं। कम्पाउन्ड बाहिर नगएको भन्ने जानकारी पाएपछि खोज्दा क्वाटर पछाडि बस्नुभएको रहेछ,’ एसपी श्रेष्ठले आयोमेलसँग भने। एसपी श्रेष्ठ लामापाटनमा पुग्दा सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठ पनि लामापाटन पुगिसकेका थिए। तर बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी बेपत्ता नै थिए। 
एसएसपी अधिकारीलाई साँझ ५ बजेको आसपासमा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए। ‘१०० मा फोन आएको थियो, जानकारी पाएको केही समय पछि नै नियन्त्रणमा लियौं,’ उनले भने। एसएसपी अधिकारीलाई कास्की प्रहरीकै हिरासत कक्षमा राखिएको प्रवक्ता हमालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सरुवा भएका एसएसपी अधिकारीको ठाउँमा एसएसपी विदुर खड्कालाई जिम्मेवारी तोकिएको छ। खड्का प्रधान कार्यालय मातहतको मानव स्रोतमा कार्यरत छन्।

र, याे पनि

 

सशस्त्रमा चुलिँदो अराजकता: जवानबाट लगातार कुटिँदैछन् हाकिम 


Leave a Reply

Your email address will not be published.