राजस्व अनुसन्धान विभागले टुंग्यायो साढे ६ अर्बको कर छली मुद्दा
आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिन राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा साढे ६ अर्बको बिगो माग्दै विभिन्न व्यापारिक फर्म तथा व्यक्तिहरूमाथि मुद्दा दायर गरेको छ।
नक्कली भ्याट बिल प्रयोग गरी भन्सार चोरी पैठारी, मूल्य अभिबृद्धि कर र आयकरसमेत चुहावट गरेको अभियोगमा विभागले बुधबार उच्च अदालत पाटनमा ६ अर्ब ६० करोड बिगो माग्दै चार वटा मुद्दा दर्ता गरेको हो।
विभागका अनुसार राजश्व छलि गर्ने माँ बैष्णो ट्रेड कन्सर्नसमेत ९ वटा फर्मका सञ्चालक तथा मुख्य कारोबारीसमेत १९ जनालाई दुई अर्ब १६ करोड ६५ लाख ४९ हजार ५३१ रुपैयाँ बिगो मागेर मुद्दा दायर गरिएको छ।
ती कम्पनीलाई बिगो असुल गरी जरिवाना र कैद सजाय हुन माग दाबी लिइएको छ।
प्रतिवादीहरुमा राजाराम महतो, जयकिशोर साह, सुरेश ठाकुर, पिंकीकुमारी पण्डित, राजकुमार राउत कुर्मी, लक्ष्मी महतो धानुक, कृष्णलाल महतो, सुरेश महरा, राजकुमार कलवार, रुस्तम देवान, अभितकुमार श्रीवास्तव, रामईश्वर महतो, परमेश्वर साह, मुकेशकुमार झा, राजाराम महतो सुढी, उर्मिला कुमारी, नसिबकुमार झा, मोहम्मद नासरुद्दिन आलाम र नीलकण्ठ श्रेष्ठ छन्।
यस्तै, जयमाताजी इन्टरप्राइजेजसमेत चार वटा फर्मका तीन जनालाई ६१ करोड ५४ लाख २२ हजार ३९५ रुपैयाँ बिगो मागेर मुद्दा दायर गरिएको छ।यसमा बाबुनन चौधरी कलवार, रोशनकुमार चौधरी र राज चौधरीलाई प्रतिवादी बनाइएको छ।
हाइटेक इन्टरनेशनल प्रा.लि. का सञ्चालक समेत दुई जनालाई दुई अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
जेएसएस मोबाइल एन्ड सर्भिसेज, श्री श्याम इम्पेक्स, श्यामबहादुर कन्सर्न प्रालि र श्री श्याम बाबा इन्टरप्राइजेजका चार जनालाई एक अर्ब ३९ करोड ७ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ।