पहिरोसँगै पुरिएका सपना

पहिरोसँगै पुरिएका सपना

फलामे रडमा देब्रे खुट्टा अडाइएको छ। खुट्टाले आड पाएको छ, तर मन भुलाउने आधार केही छैन।

विदेश जान ठिक्क परेका छोरा अनि हात दिँदादिँदै पहिरोमा पुरिएकी श्रीमती सम्झन्छन्। 

तनहुँका केशर थापाको दिन अहिले असार २९ गतेको हृदयविदारक घटना सम्झिएर बित्छ। व्यास नगरपालिका–९ माझफाँटका केशर बिहानै श्रीमतीसँगै भल (बाढी) पन्छाउन लागे। 

फर्किंदै गर्दा घरमाथिको जंगलबाट पहिरो खस्न थाल्यो। केशर र श्रीमती कमला ज्यान बचाउन भागे। तर सफल भएनन्। 

‘माथि डाँडाबाट पहिरो खसेको देखियो। भाग्दाभाग्दै श्रीमतीलाई बगायो। मैले रुखको ठुटो समातेँ,’ गण्डकी मेडिकल कलेजमा उपचाररत केशरले घटना सुनाए। 

दुई छोरा र एक बुहारी आ-आफ्नै कोठामा थिए। आँखैअघि पहिरोले पुरिहाल्यो। पाँच वर्षमा केशरको मन दोस्रा पटक फाटेको छ। पहिले भूकम्प अनि अहिले पहिरोले।

‘सरकारले दिएको तीन लाख अनुदानमा थपथाप पारेर १५ लाखमा चार कोठे घर बनाएका थिए ।

अहिले त्यो पनि भत्कियो। घर बनाउँदाको अलिकति ऋण उनको थाप्लोमा अझै बाँकी छ।

घरमात्रै लगेको भए नयाँ बन्थ्यो, तर त्यही घरमा पुरिएर परिवार उजाडियो। श्रीमती कमला, दुई छोरा र बुहारी गरी चारजना पहिरोमा पुरिए। 

भाग्यले बाँचेका केशरको अहिले गण्डकी मेडिकल कलेजको अर्थोपेडिक वार्डमा उपचार गरिरहेका छन्। उनी बेड नम्बर ३० मा दिन कटाइरहेका छन्।

पहिरोमा हराइरहेका माझफाँटका राजेश थापाको खोजी गर्दै नेपाली सेना

अस्पतालसम्म आउँदा निकै दुःख भोग्नुपर्यो। सडकमा जताततै पहिरो खसेकाले अस्पताल कसरी लैजाने भन्ने समस्या भयो। पछि छिमेकीले आधा घण्टा बोकेर एम्बुलेन्ससम्म ल्याइपु¥याए। 

दाहिने हातमा सामान्य चोट बोकेका केशरको देब्रे खुट्टाको हड्डी भाँचिएको छ। फागुनमा एक महिनाको छुट्टी लिएर आएका जेठो छोरा मनोज दुबई जान तम्तयार थिए। 

मन्द स्वरमा बुवा केशर भन्छन्, ‘वडाबाट कागजात मिलाएको थियो। यस्तो नभएको भए गइसक्थ्यो। कम्पनी राम्रो छ। लकडाउनमा पनि पैसा हाल्देको छ भन्थ्यो।’ 

केशर र कमलाले छोरा मनोजको टाउकोमा हात राखेर आशीर्वाद दिन पाएनन्। दुई वर्ष पहिले मनोजसँग बिहे गरेकी अन्जनाले पनि अंगालिएर बिदा गर्न पाइनन्। 

छोरालाई जाँदा चाहिने खर्च भनेर दराजमा राखेको पैसा पनि भेलसँगै बग्यो। ‘८–९ तोला सुन थियो। छोरा जानलाई ५० हजार खर्च अलग्गै राख्देका थियौं। दिनुपर्ने ठाउँमा सुन राखेर दिनुपर्ला भन्ने सल्लाह भइराखेको थियो। घर पनि पुरिहाल्यो, अब..,’ यति भन्दै गर्दा केशर रोकिए। 

१२ कक्षा पढ्दै गरेका कान्छा छोरा राजेश पनि विदेश जाने तयारीमा थिए। एक वर्ष पहिले चिनजानकै म्यानपावरमा एक लाख डिपोजिट भन्दै बुझाए। तर न पैसा आयो, न भिसा। ‘म्यानपावरले पैसा फिर्ता दिन्छु भनेको थियो। त्यो पनि दिएको छैन। लापत्तै भयो,’ केशरले सुनाए। 

पहिरोमा हराएका राजेश अझै भेटिएका छैनन्। केशर आफैं भारतमा १६ र कतारमा १५ वर्ष बसे। उनी १३ वर्षको उमेरमा भारत छिरेका थिए। पछि कतारतिर बसे। ३० वर्ष विदेशी भूमिमा बिताएका उनी गत वर्ष जेठमा स्वदेश फर्किएका हुन्। 

मुक्तिनाथ विकास बैंकबाट ऋण लिएका उनलाई अब त्यो कसरी तिर्ने भन्ने चिन्ता छ। जुन घरमा पहिरो खस्यो, त्यसैलाई धितोमा राखेर ऋण झिकेका थिए। विदेश जानुभन्दा बाख्रा पाल्नतिर लागे। 

ऋणले जोडजाम गरेका १० बाख्रा, ५ पाठापाठी अनि २ वटा भैंसी पहिरोमै बगे। केशरलाई कुर्न बहिनी शारदा थापा अस्पतालमै बसेकी छन्। उनी छियाछिया भएको दाइको मन सम्हाल्छिन्।

घरमाथि जंगल भए पनि कहिल्यै पहिरो नखसेको शारदा सुनाउँछिन्। ‘घरमाथि वन छ, ठूलो पानी पर्दा भल आइहाल्थ्यो। छेउमा खोला छ। भल कटेर त्यहीँ जान्थ्यो,’ ४५ वर्षीया शारदाले भनिन्, ‘बाआमा उमेर पुगेरै बित्नुभयो। हामी पनि यत्रो भइयो तर कोही बुढापाकाले पहिरो गयो भनेको पनि सुनिएन।’

उपचार खर्च भनेर ल्याएको ५० हजार सकिन लागिसक्यो। त्यसपछि के गर्ने भन्ने टुंगो छैन। सरकारले पहिरो पीडितलाई सहयोग गर्छ भन्ने सुनेका दाजुबहिनी अहिलेसम्म आफैंले खर्च गरिरहेको सुनाउँछन्।

‘एक ठाउँमा १६ सय, एक ठाउँमा २२ सय, २३ सय….,’ हिसाब गर्दै बहिनी शारदा भन्छिन्, ‘दमौलीको भाइसँग ५० हजार ल्याएको हो। ४० हजार सकिसक्यो।’

खुट्टाको हड्डी भाँच्चिएका केशरको अप्रेसन हुन सकेको छैन।

कोरोना परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट नआउँदा अप्रेसन रोकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले बताइन्।

मेसु डा. घलेले भनिन्, ‘स्वाब पठाएका छौं। अहिले ल्याबमा लोड कम भएकाले धेरै समय लाग्दैन। रिपोर्ट आउनेबित्तिकै सर्जरी हुन्छ।’ 

केशरको खुट्टाको उपचार त डाक्टरले गर्छन्। छियाछिया भएको मनको उपचार कसरी गर्नु?, बुढेसकालका सहारा पहिरोले लग्यो। छोराले कमाएर भएको ऋण तिर्ला भन्ने केशरको सपना पहिरोसँगै पुरिएको छ। 

पहिरोमा बेपत्ता राजेशको खोजी गर्दै एक्जाभेटर । तस्बिर साैजन्य : कृष्ण न्यौपाने

 


Leave a Reply

Your email address will not be published.