तुलसीपुर उपमहानगरमा ‘क्यासलेस’ काराेबार

तुलसीपुर उपमहानगरमा ‘क्यासलेस’ काराेबार

तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन (क्यासलेस) कार्यालय बनाइएको छ। उपमहानगरमा तिर्नुपर्ने पैसा सेवाग्राहीहरूले अनिवार्य रूपमा बैंकमा जम्मा गर्नुपर्ने भएको छ।

आर्थिक सुशासनका साथै बैकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा बैंकको काउन्टर स्थापना गरिएको हो। 

काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिँदा मेंगा बैकले काउन्टर स्थापनाका लागि स्वीकृति पाएको उपमहानगरका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए।

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियागत ढिलाइका कारण यसपालिबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकका म्यानेजर राजन भण्डारीले जानकारी गराए। 

उपमहानगरपालिकामा बैंक काउन्टरको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस बनाउने लक्ष्य पूरा भएकोमा खुसी व्यक्त गरे। उनले अनौपचारिक कारोबार रोक्न बैकिङ प्रणालीको ठूलो महत्त्व हुने कुरामा समेत जोड दिएका थिए।

हरेक नागरिकलाई बैकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोबार वृद्धि हुने उनको भनाइ थियो। ‘वित्तीय साक्षरता अहिलेको आवश्यकता भएकाले पनि हामीले बैकिङ प्रणालीमा जोड दिएका हौं,’ पाण्डेले भने।

अर्को वर्षबाट उपमहानगरपालिकाको हरेक भुक्तानी अनलाइनबाट गर्ने गरी काम अगाडि बढाइएको पनि उनको भनाइ छ। 
तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले बैकिङ प्रणालीले आर्थिक पारदर्शिता ल्याउने बताए।

उनले उपमहानगरपालिकाले क्रमबद्ध ढंगले घोषणाहरू पूरा गर्दै गएको समेत जानकारी दिए। धेरै मानिस बैकको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै तुलसीपुर बैंकर्स संघका अध्यक्ष सरोज लामिछानेले यसबाट उनीहरूलाई बैकिङ प्रणालीसँग जोडेर लैजाने बताए। 

बैंकका म्यानेजर राजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपमहानगरका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए।


Leave a Reply

Your email address will not be published.