माडी नगरकाे माग: ठोरीको सीता गुफास्थलसम्म उत्खननसहित अध्ययन हुनुपर्छ

माडी नगरकाे माग: ठोरीको सीता गुफास्थलसम्म उत्खननसहित अध्ययन हुनुपर्छ

माडीको अयोध्यापुरी क्षेत्रसँगै बाल्मीकि आश्रम हुँदै ठोरीको सीता गुफास्थलसम्म उत्खनन्सहित अध्ययन माग गरिएको छ। 

माडीका विभिन्न स्थानमा धार्मिकग्रन्थ भेटिएकाले यस क्षेत्रमा उत्खनन् गर्न माडी नगरपालिकाले सरकारसँग माग गरेको हो। 

‘धार्मिक पर्यटकीय हिसाबले विस्तार गर्ने क्रममा हामीले पशुराम कुण्ड नजिकै उत्थनन् गरेका थियौं। त्यहाँ ७ सय वर्षअघिका अवशेष भेटिएका थिए,’ माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले भने, ‘यहाँ सीता गुफा, बाल्मीकिमा लवकुश बसेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। यसको अध्ययनलाई सरकारले पहल गर्नुपर्छ।’ 

माडी नगरपालिका-८ स्थित अयोध्यापुरीमा खनजोत गर्दा हजारौं वर्ष पुराना भाँडाकुँडा, सिक्का र सामानहरू भेटिने गरेको भन्दै त्यहाँ अध्ययन गर्न आवश्यक रहेको मेयर ढकालले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दाबी गरेपछि पुरातत्व विभागले यसमा चासो दिएर अध्ययन तथा खोज कार्य सुरु गर्न लागेको हो। 

हाल सार्वजनिक गरिएका प्रमाणहरू आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरूले अयोध्यापुरीमा उत्खनन् गरेपछि मात्रै भगवान् रामको ‘जन्मभूमि’ रहे नरहेको स्पष्ट हुने बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति आएपछि माडी नगरपालिकाले पनि पण्डितहरूलाई बोलाएर यस विषयमा बुझ्ने प्रयास गरिरहेको छ। 

चितवनमा बिहीबार पुरातत्त्व विभागको अध्ययन टोली आउने भने पनि आधिकारिक रूपमा कुनै जानकारी नभएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

श्रीराम एवं सीतापुत्र लवकुशको जन्मस्थान भने माडीकै बाल्मीकि आश्रम रहेको बताउँदै आएको पाइन्छ।

हाल माडी-१, बाल्मीकि आश्रम क्षेत्रमा लवकुशको जन्मस्थल, सीताले पिङ खेलेको भनिने प्राकृतिक झुला, लवकुशले घोडा बाँध्न बनाएको खम्बालगायतका संरचना सुरक्षित अवस्थामै छन्। तर, भौगोलिक अवस्थाका कारण बाल्मीकि पछाडि पर्दै आएको छ। बाल्मीकि भारत हुँदै जानुपर्ने बाध्यता छ।


Leave a Reply

Your email address will not be published.