बाँकेमा सलह प्रवेश, किसानहरू त्रसित
भारतीय सीमावर्ती क्षेत्रबाट बाँकेको नरैनापुर, ४ जयरामपुरमा प्रवेश गरेको सलह (किरा) हुल अहिले डुडुवा गाँउपालिका हुँदै नेपालगन्जमा प्रवेश गरेको छ।
झन्डै लाखौं बढीको झुन्ड रहेको सलह नरैनापुर ६ वडा गंगापुर हुँदै डुडुवा गाउँपालिकाको बेतहनीबाट नेपालगन्ज प्रवेश गरेको कृषि सेवा केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्र बाँकेका बाली विकास अधिकृत सकिल खानका अनुसार अहिले सलहको झुन्ड थपिँदै गइरहेकाले ५० करोडभन्दा बढी संख्या पुगेको अनुमान गरिएको छ।
नरैनापुरमा पपुलर, ल्यापटिस जस्ता बिरुवाबाहेकमा नोक्सानी गर्न नपाएका सलहले डुडुवामा धान र मकै बाली सखापै पारिरहेको बाली विकास अधिकृत खानले बताए।
अहिले डुडुवा गाँउपालिका वडा २ को उचवामा कृषि ज्ञान केन्द्रको टोली स्थानीयसँग मिलेर किरा धपाउने प्रयास लागिरहे पनि संख्या धेरै रहेकाले धपाउन समस्या परिरहेको अधिकृत खानले बताए।
डुडुवा गाउपालिकाका किसानको बाली जोगाउन गाउँपालिकाले सलह समात्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने अभियानसमेत चलाएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए।
डुडुवा गाउँपालिकाबाहेक नेपालगन्जमा समेत किरा प्रवेश गरिसकेकाले अहिले सबै स्थानीय तहमा सलहको आंतक हुनसक्ने भन्दै कृषकहरू सचेत भएर किरा धपाउने अभियानमा लागेका छन् भने कृषि ज्ञान केन्द्रको प्राविधिक टोली पनि बिहानैदेखि औषधी छर्किनेदेखि लिएर अन्य वैकल्पिक उपायमा जुटेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए।