प्रहरी नेतृत्वमा ‘आशलाग्दो’ ब्याच

प्रहरी नेतृत्वमा ‘आशलाग्दो’ ब्याच

नेपाल प्रहरीमा २०७० सालमा एउटा ब्याच थियो- त्यो ब्याचबाट उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक बने।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्माजस्ता व्यावसायिक प्रहरी अधिकारीहरूको ‘जम्बो’ टिम नेतृत्वले पाएको थियो। 'निष्ठावान्' प्रहरी अधिकारीहरू रहेको त्यो बेला नेपाल प्रहरीमा आमूल सुधारको अपेक्षा राखिएको थियो।

प्रशासन तथा प्रबन्ध शाखामा एक नम्बर एआइजी भण्डारी नै थिए। उनले राम्रो कामको थालनी गरे। खरिदहरूमा त्यसबेलाका क्षेत्रीय प्रहरी कार्यालयहरू सक्रिय गराए, अधिकारसम्पन्न पारे। विवादास्पद हतियार खरिदको प्रक्रिया रोकिदिए।

क्षेत्रीय प्रहरी कार्यालयलाई सक्रिय पार्नुको कारण थियो- प्रहरी मुख्यालयमा ठेकेदार नछिरून्। कानुन र अधिनमा रहेर सम्बन्धित कार्यालयले नै आफ्ना लागि सामग्री किनुन्।

तर, यी दुई काम फत्ते गर्नेवित्तिकै एआइजी भण्डारीलाई प्रशिक्षण प्रतिष्ठान सरुवा गरियो। शक्तिकेन्द्र चिढिएपछि उनी प्रधान कार्यालयको महत्वपूर्ण निकायबाट लखेटिएका थिए।

यसबेला प्रहरी मुख्यालयमा भर्खर ‘अख्तियार’ छिर्न थालेको थियो। शक्तिकेन्द्रको रुपमा ‘अख्तियार’ छिरेर विस्तारै नेतृत्वलाई ‘हायलकायल’ पार्‍यो। मुख्यालय लोकमानसिंह कार्कीको प्रभावमा चल्न थाल्यो।

तीर भने उनै भण्डारीतिरै फर्केको थियो। एआइजी भण्डारीमाथि नै ‘तेह्रपाने’ फारम भराएको आरोप त प्रहरी महानिरीक्षक अर्याललाई नै लाग्यो।

आफ्नै ब्याचीबाट असामान्य व्यवहार चाल पाएपछि एआइजी भण्डारी प्रहरी मुख्यालय नै जान छोडे। आफैंले रोजेर उनी राष्ट्रिय सुरक्षा परिषद गए। त्यहीँबाट उनी प्रही मुख्यालय नछिरी ‘रिटायर्ड’ भए।  

‘एक से एक’ प्रहरी अधिकारी रहेको त्यो ब्याचबाट प्रहरीमा सुधारको जे अपेक्षा गरिएको थियो, वातावरण दूषित भयो नै,  भएका राम्रा कामको जस लिने अवसर पनि नेतृत्वले गुमायो।

अर्याल आफू बिदा हुँदै गर्दा ‘उदारता’मा पनि चुके।

वरियतामा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाल प्रहरी महानिरीक्षकको दौडमा थिए। कसैलाई पनि उत्तराधिकारी नतोकेर अर्याल बिदा हुँदा प्रहरी ऐन नियमावली नै संशोधन गरेर इतिहासमै पहिलोपटक प्राविधिक एआइजीलाई प्रहरी मुख्यालय हाँक्ने जिम्मा सुम्पिनु परेको थियो।

अर्यालले थालेका राम्रा काम यस्तै विवादको ‘छाया’मा परे।

अर्यालपछि प्रहरी महानिरीक्षक प्रकाश अर्याल बने। उनको पूरै कार्यकाल औषत भन्दा पनि सन्तोषजनक रुपमा मात्रै चल्यो।

त्यसपछिको ब्याचमा त ‘इमान’हरूको टिम बन्नै दिइएन। सर्वेन्द्र खनाललाई शक्तिकेन्द्रले काखी च्याप्दा रमेश खरेलले राजीनामा नै दिए।

खनाललाई इमानदार अधिकारीहरूसँग सहकार्यको अवसर थियो। तर, नेतृत्व आफैं ‘क्लिन’ हुनुपर्नेमा खनालले आफूलाई ‘पवित्र’ राख्नुपर्ने दायित्वबोध नै गरेनन्।

उनले एआइजीहरू कोहीसँग सहकार्यको हात जोड्न पनि सकेनन्। एआइजी पुष्कर कार्की, ठूले राईको ‘चियो’ र ‘खेदो’ गरेर कार्यकाल बिताए।

अहिले नेपाल प्रहरीमा फेरि ‘इमान’हरूको टिम बन्ने क्रममा छ।

बुधबार रिक्त दुई एआइजीमा निरजबहादुर शाही र प्रद्युम्न कार्कीको सिफारिस भएसँगै अब प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री नेतृत्वको ब्याचमा ‘इमान’हरूले नेतृत्व गर्ने अवसर सिर्जना भएको छ।

एआइजीको दरबन्दीमध्ये एकमा यसअघि नै हरिबहादुर पालको बढुवा भइसकेको छ। उनी आफैं अपराध अनुसन्धान र अपरेशनमा आक्रामक मानिन्छन्।

क्षत्री र पाललाई सधैं कडा टक्कर दिनेमध्ये शाही र कार्की मानिन्छन्। कुनै समय उनीहरूमध्ये एकलाई नेतृत्वमा पुग्ने व्यक्ति ठानिन्थ्यो। तर, बढुवामा शक्तिकेन्द्रले नरुचाएपछि उनीहरू पछि परे।

सरुवा-बढुवा पारदर्शी छैन। प्रहरी मुख्यालय कमजोर हुँदा सरुवा-बढुवामा राजनीतिक शक्तिकेन्द्र हावी छ। पहिलो, उनीहरूले यसलाई चिर्न सक्नुपर्छ। सरुवा-बढुवामा राजनीतिक शक्तिकेन्द्रलाई मुख्यालय प्रवेशमा रोक लगाउन सक्नुपर्ने चुनौती छ।

तैपनि उनीहरू दुवैलाई ‘ग्लानी’ छैन। दुवै जना क्षत्री नेतृत्वको टिममा प्रहरीलाई ‘रोलमोडल’ बनाउन कस्सिएका छन्। ‘हामीमध्ये एक जना आइजी हुने थियो, जो भइसक्यो। हामी अब उहाँलाई संगठन सुधारमा सघाउँछौं,’ शाही र कार्कीनिकटस्थलाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने।  

कार्कीमा रमेश खरेलजस्तो आक्रामक र निष्ठाको स्वभाव छ। शाहीको निष्ठा त धेरैले मापन नै गर्न सक्दैनन्। प्रचार नगरीकन शाही भित्र-भित्र के गर्छन् थाहा हुँदैन, तर ‘रिजल्टबेस’ पुलिसिङ उनको विशेषता हो। दुवै अपराध नियन्त्रण र अनुसन्धानमा ‘खप्पिस’ मानिन्छन्।

क्षत्रीले आफ्नो ब्याचका यी दुईलाई बढुवा गराउन अडान लिएकैले प्रहरीमा ‘इमान’हरूको टिम बन्न लागेको हो। क्षत्री आफैं इमानदार छविका मानिन्छन्।

अहिलेको प्रहरी नेतृत्वसँग रहेको टिमलाई इमानदार प्रहरीहरूले धेरै अपेक्षा गरेका छन्। पहिलो त, सरुवा-बढुवा नै हो।

सरुवा-बढुवा पारदर्शी छैन। प्रहरी मुख्यालय कमजोर हुँदा सरुवा-बढुवामा राजनीतिक शक्तिकेन्द्र हावी छ। पहिलो, उनीहरूले यसलाई चिर्न सक्नुपर्छ। सरुवा-बढुवामा राजनीतिक शक्तिकेन्द्रलाई मुख्यालय प्रवेशमा रोक लगाउन सक्नुपर्ने चुनौती छ।

दोस्रो, प्रहरीको खरिद कहिल्यै पारदर्शी हुन सकेको छैन। खरिद पारदर्शी हुन नसक्दा प्रहरीले नेतृत्वलाई सराप्ने गरेका छन्। खरिदलाई पारदर्शी बनाएर गुणस्तरीय सामग्री प्रहरी कर्मचारीलाई दिनु उनीहरूको चुनौती हुने छ।

तेस्रो, अपराध अनुसन्धान। अपराध अनुसन्धानमा वर्षौंदेखि चलिआएको ‘कोभर्ट अपरेसन’ सिथिल बनेको छ। अपराध अनुसन्धान गर्ने अधिकृतहरू त्रसित छन्। यो टिमलाई अपराध अनुसन्धानलाई गुणात्मक र परिणाममुखी बनाउनुपर्ने चुनौती छ।

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले वर्तमान प्रहरी नेतृत्वलाई केही सुझाव दिएका छन्।

पहिलो, नेतृत्वको सोच, शैली र संयन्त्रमा परिवर्तन आउनुपर्छ। प्रहरी नेतृत्वले खरिदमा ध्यान दिनुहुँदैन। अब खरिदलाई प्रत्यायोजन गरी सबै प्रदेशहरूलाई सुम्पिनु पर्छ। संघीयताको अभ्यासका हिसाबले पनि यो जरुरी भइसकेको छ। शक्तिकेन्द्रको आडमा मुख्यालय छिरेको ठेकेदारलाई खेदाउन सक्नुपर्छ।

‘प्रहरी नेतृत्वले खरिदमा ध्यान दिन छोडेर नीति निर्माण गर्ने र अधिकार प्रत्यायोजन गर्ने काम गरे प्रहरी ठेकेदारमुक्त बन्छ,’ भण्डारीले भने, ‘ठेकेदारमुक्त भयो भने नेतृत्व लोभ-मोहबाट अलग्गिन्छ।’

दोस्रो, माथिल्लो निकाय नीति तर्जुमा गर्नपट्टि केन्द्रित हुनुपर्छ। तल्लो निकायलाई ‘अपरेसनल’ बनाउनुपर्छ।

यी सबै कार्यभार पूरा गर्न प्रहरीमा ‘थ्री सी’ को अवधारणाबारे चर्चा गर्न आवश्यक रहेको भण्डारीले बताए।

अक्सर, प्रहरी संगठनमा चल्ने भनेको कन्फर्टेशन, कन्भिन्स र कम्प्रोमाइज हो।

हिजोआज प्रहरी कम्प्रोमाइजमा चलेको छ। कम्भिन्सको पाटोबाट पनि खासै अगाडि बढेको देखिँदैन।

भन्डारी भन्छन्, ‘यतिका इमानदार प्रहरी भएको संगठन कन्फर्टेशनमै जानुपर्छ, शक्तिकेन्द्रको स्वार्थ पन्छाउन यो जरुरी छ, यसले प्रहरीभित्रकै खराब र बाह्य शक्तिलाई निरुत्साहित गर्छ।’

तर, ‘इमान’ मात्र छ भनेर प्रहरी संगठनको शैली, प्रवृत्ति, चरित्रमा परिवर्तन भने नआउने भण्डारीले बताए।  

पूर्वडिआइजी रमेश खरेलले नेतृत्व क्षमतामा क्षत्री पास भएको बताए। ‘नेतृत्व एआइजी बढुवा पारदर्शी र न्यायपूर्ण बनाउन सफल भएको छ, नेतृत्वले अडान लिन सके प्रहरी संगठनमा सुधार आउँछ,’ खरेलले भने, ‘इमानदार प्रहरीबाट मात्र प्रहरी संगठनमा सुधार आउँछ, अहिले प्रहरीमा इमानदारहरूले नेतृत्व गर्ने अवसर सिर्जना भएको छ।’

र, याे पनि

इमानका ‘रोलमोडल’ शैलेश


Leave a Reply

Your email address will not be published.