नेपाल टेलिकमको मोबाइल एप ह्याक गरेको आरोपमा धनकुटाबाट एक पक्राउ

नेपाल टेलिकमको मोबाइल एप ह्याक गरेको आरोपमा धनकुटाबाट एक पक्राउ

नेपाल टेलिकमको मोबाइल एप ह्याक गरेको अभियोगमा सहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर पक्राउ परेका छन्। 

डिजिटल इन्टेलिजेन्सको माध्यमबाट सर्भर सिस्टम ह्याक गरी टेलिकमको प्याकेज प्रयोग तथा बिक्री गरेको अभियोगमा धनकुटा पाख्रीबास नगरपालिका-५ का २८ वर्षीय दिवाकर देउजालाई प्रहरीले पक्राउ गरेको हो। 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले देउजालाई बुधबार पक्राउ गरी आवश्यक कारबाहीको लागि साइबर ब्युरोको जिम्मा लगाएको छ। उनलाई विद्युतीय ऐन २०६३ अनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

देउजाले नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिएको भन्दै आवश्यक कारबाही गर्न टेलिकमले प्रहरीको सहयोग मागेको थियो। देउजाको साथबाट ल्यापटप तथा मोबाइलहरू बरामद भएको प्रहरीले जनाएको छ। 

देउजाले टेलिकमको सर्भरबाट के कति क्षति पुर्‍याएको भन्ने प्रहरीले खुलाएको छैन। उनले टेलिकमको थुप्रै राजश्व चोरी गरेको हुनसक्ने अनुमान गरिएको छ।


Leave a Reply

Your email address will not be published.