दाहाल र नेपालद्वारा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव

दाहाल र नेपालद्वारा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव

स्थायी समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीलाई राजीनामा दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपालले सुझाव दिएका छन्। 

एक सातादेखि स्थगित भएको बैठक भोलिदेखि पुन: बस्दैछ। नेताहरूबीच सहमति खोज्न स्थायी समिति बैठक स्थगित गरिँदै आएको थियो। 

अब सहमतिका लागि स्थायी समिति बैठक नसारिने भएको छ।

अध्यक्ष दाहाल र नेपाल प्रधानमन्त्री केपी ओलीलाई भेट्न आज दिउँसो बालुवाटार गएका थिए। उनीहरूबीच एक घन्टाभन्दा बढी छलफल भएको बुझिएको छ। 

भेटमा स्थायी समिति बैठकलगायत प्रधानमन्त्री ओलीको राजीनामा दिने मागबारे कुराकानी भएको स्रोतले बतायो। 

दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले भेटमा भएका कुराकानीहरू बाहिर आइनसकेको बताए। स्थायी समिति बैठक भने शुक्रबार ११ बजे बोलाउने तय भएको सापकोटाले बताए।

प्रधानमन्त्रीलाई भेट्नुअघि दाहालको निवास खुमलटारमा नेकपा सचिवालयका ६ नेताबीच छलफल भएको थियो। यो छलफलमा भएका विषयवस्तुबारे पनि खुलाइएको छ। 
उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले नियमित भेट भएको बताए। 

नेकपा स्थायी समितिमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब छ। राजीनामा मागिरहे पार्टी फुट्नसक्ने चेतावनी उनले दिइरहेको बुझिएको छ। 

‘प्रधानमन्त्रीको राजीनामासँग पार्टी एकता जोडिएको छ, पार्टीलाई एकताबद्ध बनाएर पनि सँगसँगै लैजानु छ, ती विषयमा महत्वपूर्ण छलफलहरू भइरहेका छन्,’ सापकोटाले भने।


Leave a Reply

Your email address will not be published.