प्रदेश ५ मा २० करोडको सहकारी कोष परिचालन गर्न बाटो खुला

प्रदेश ५ मा २० करोडको सहकारी कोष परिचालन गर्न बाटो खुला

प्रदेश ५ मा सहकारी विकास कोष सञ्चालन गर्ने बाटो खुलेको छ। प्रदेश ५ को सरकारको मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सहकारी विकास कोष परिचालन कार्यविधि २०७७ स्वीकृत गरेसँगै कोष परिचालनको बाटो खुलेको हो। 

गत आर्थिक वर्षमा प्रदेश सरकारले १५ करोड रकम विनियोजन गरेको भए पनि कार्यविधि नबन्दा उक्त कोषको रकम परिचालन हुन सकेको थिएन।

प्रदेश ५ सरकारले जारी गरेको सहकारी ऐन र सहकारी नियमावलीमा सहकारी विकास कोष स्थापना गर्ने व्यवस्था छ। उक्त प्रावधानलाई टेकेर प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि बनाएको हो।

उक्त कोषमा २० करोड रकम जम्मा भइसकेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले उक्त कोषका लागि आर्थिक वर्ष २०७६-७७ मा १५ करोड विनियोजन गरेको थियो। त्यसैगरी नयाँ आर्थिक वर्ष २०७७-७८ मा ५ करोड बजेट विनियोजन गरिसकेको छ।

कोषको रकम प्रदेश ५ मा रहेका सहुलियत कर्जा लगानी कोष स्थापना गरेका सहकारी संस्थाहरूले माग गरी परिचालन गर्न सक्नेछन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकारी शाखाका प्रमुख ज्ञानहरि पन्थीका अनुसार उक्त कोषको रकम सहकारीले तीन वर्षका लागि शून्य ब्याजदरमा परिचालन गर्न पाउँछन्।

उक्त रकम परिचालन गर्न प्रदेश सरकारले थप ३ प्रतिशत रकम दिने व्यवस्था गरेको छ। वर्षको दुई पटक भदौ र फागुन महिनामा सूचना प्रकाशित गर्ने कोष परिचालन कार्यविधिमा उल्लेख गरिएको पन्थीले जानकारी दिए। 

शाखा प्रमुख पन्थीले कोष परिचालनका लागि सहजीकरण समिति रहने साथै मन्त्रालयमा एउटा कोषको परिचालनको सचिवालयको व्यवस्था गरिएको बताए। 


Leave a Reply

Your email address will not be published.