बजेटको संशोधित लक्ष्य पूरा, पुँजीगत खर्चको प्रवृत्ति फेरिएन

बजेटको संशोधित लक्ष्य पूरा, पुँजीगत खर्चको प्रवृत्ति फेरिएन

मुलुक गत चैतदेखि लकडाउनमा रहे पनि आर्थिक वर्ष ०७६/०७७ को संशोधित लक्ष्य पूरा भएको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा समग्र खर्च ७१.३९ प्रतिशत र समग्र आय ७३.१३ प्रतिशत पुगेको छ।

कोरोनाका कारण अर्थतन्त्र ठप्प जस्तै भएपछि अर्थमन्त्री युवराज खतिवडाले गत जेठमा दोस्रो पटक बजेट संशोधन गर्दै ७० प्रतिशत अर्थात १० खर्ब ७३ अर्ब मात्र खर्च हुने बताएका थिए।

प्रतिनिधिसभा अर्थ विकास तथा प्रविधि समितितिको बिहीबारको बैठकमा अर्थमन्त्री खतिवडाले कोरोनाको चापमा पनि बजेट खर्च सन्तोषजनक रहेको बताए।

सरकारले आर्थिक वर्ष ०७६/०७७ मा चालूतर्फ ७ खर्ब खर्च हुने अन्तिम संशोधित अनुमान राखेकोमा ७ खर्ब ८६ अर्ब बढी खर्च भएको छ।

हुन त बजेटमा चालू खर्च ९ खर्ब ५७ अर्ब रुपैयाँ विनियोजन भएकोमा अर्धवार्षिक समीक्षामा ९ खर्ब ४४ अर्बमा झारिएको थियो।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुँजीगततर्फ १ खर्ब ९१ अर्ब रुपैयाँ खर्च भएको छ। जबकी सरकारको अन्तिम संशोधित लक्ष्य त्यस्तै, ४ खर्ब ८ अर्बबाट झारेर २ खर्ब ८ अर्बमा सीमित गरिएको थियो। यो खर्च रकम ४७ प्रतिशत हुन आउँछ। 

यसैगरी, वित्तीय व्यवस्थापनतर्फ पनि लक्ष्य भेट्न सकिएको छैन। वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ६७ अर्बको बजेट रहेकोमा १ खर्ब ६० अर्ब रुपैयाँ खर्च भएको छ। 

अर्थमन्त्री खतिवडाले ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताएका छन्। सरकारले बजेटमा ११ खर्ब १२ अर्ब रुपैयाँका राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा अन्तिम पटक संशोधन गरेर ८ खर्ब २७ अर्बमा कायम गरिएको थियो।  

अर्थमन्त्री खतिवडाले समग्रमा ८ खर्ब ४१ अर्ब राजस्व संकलन भएको बताए पनि महालेखाको अपरिस्कृत तथ्यांकले ७ खर्ब ९३ अर्ब रुपैयाँ देखाउँछ। 

सरकारले ०७६ जेठमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएकोमा गत माघ २९ गते अर्धवार्षिक समीक्षाबाट १३ खर्ब ८५ अर्ब ९६ करोडमा झारिएको थियो। तर, कोरोनाको चाप भन्दै गत जेठमा फेरि लक्ष्य संशोधन गरिएको थियो।  

सरकारले बजेट खर्चको लक्ष्य पूरा गरेपनि आर्थिक वृद्धिमा असर पुगेको छ। सरकारले गत आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। तर, केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २.३ प्रतिशतभित्र सीमित हुने बताइसकेको छ।
 


Leave a Reply

Your email address will not be published.