‘राजीनामा नटर्ने’ देखिएपछि ओलीले बालुवाटार बोलाए आफू पक्षका नेता-सांसद 

‘राजीनामा नटर्ने’ देखिएपछि ओलीले बालुवाटार बोलाए आफू पक्षका नेता-सांसद 

प्रधानमन्त्री केपी ओली आफूनिकट नेता तथा सांसदसँग परामर्शमा जुटेका छन्। 

शुक्रबार पुन: स्थायी समिति बैठक तय भएको अवस्थामा ओलीले निकट नेता तथा सांसदहरूलाई बालुवाटार बिहीबार अपराह्न बालुवाटार बोलाएका हुन्। 

प्रधानमन्त्री ओलीलाई स्थायी समिति बैठकमा बहुमत नेताहरूले राजीनामा दिन दबाब दिइरहेका छन्। 

आजै दिउँसो बालुवाटारमा भएको छलफलमा पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका थिए। 

प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि ओलीले तत्कालको माग सम्बोधन गर्ने मध्यमार्गी बाटो अपनाउन भन्दै स्थायी समिति बैठक सार्दै आएका थिए। ओली दाहालसँग छलफलमै रहे पनि राजीनामाको प्रसंग टार्न नसक्ने परिस्थिति सिर्जना हुँदै गएको स्रोत बताउँछ। 

यसकारण पनि स्थायी समिति सार्न नपाइने अडान दाहाल र नेपालले राखेपछि प्रधानमन्त्री थप अफ्ठेरोमा परेको बालुवाटार स्रोतको बुझाइ छ। भोलिको बैठकमा पनि राजीनामाकै विषयले प्राथमिकता पाउने सम्भावना बढेपछि प्रधानमन्त्री परामर्शमा जुटेका हुन्। 

‘प्रधानमन्त्रीले आफूनिकट नेता तथा सांसदलाई जे पनि हुन सक्छ भन्दै तयार रहन भनिरहनुभएको छ,’ एक नेताले भने, ‘भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफलका लागि बोलाउनुभएको हो।’

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आफूनिकट र राजधानीमा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published.