प्याब्सन र एनप्याब्सनले निर्णय फिर्ता नलिए आन्दोलन गर्छौं :  शिक्षक युनियन

प्याब्सन र एनप्याब्सनले निर्णय फिर्ता नलिए आन्दोलन गर्छौं :  शिक्षक युनियन

प्याब्सन र एन प्याब्सनले साउन १ देखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलवी विदामा राख्ने निर्णय गरेकोप्रति संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिले आपत्ति जनाएको छ।

युनियनले बिहिबार विज्ञप्ति जारी गर्दै प्याब्सन एनप्याब्सनले एकलौटी निर्णय गरेर शिक्षकहरूको पेटमा लात हान्ने काम गरेको भन्दै तीन दिनभित्र  निर्णय फिर्ता गर्न आग्रह गरेको छ। त्यस्तो नभए उसले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

'लकडाउनको बहाना बनाई एकातिर अघिल्लो शैक्षिक सत्रको तलव नदिने अर्कोतर्फ कोरोना भाइरसको महामारीको समयमा शिक्षक कर्मचारीको रोजिरोटी खोस्ने अमानवीय र गैर कानुनी काम गरेको छ। यो प्याब्सन एनप्याब्सनका लागि समेत घातक हुने छ,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले विद्यार्थीको पढ्न पाउने अधिकारमाथि कुठाराघात गर्नुका साथै नेपालको संविधान तथा शिक्षा, श्रम ऐनको ठाडो उल्लंघन गरेको शिक्षक युनियनले बताएको छ।

शिक्षा र स्वास्थ्य नागरिकका हक भएकाले निजी विद्यालयमा भइरहेको चरम व्यापारीकरणको अन्त्य गरी विद्यालयलाई सेवा मुलक बनाउन सरोकार वाला निकायले आवश्यक कदम चाल्नुपर्ने नेपाल शिक्षक महासंघ, अभिभावक महासंघले ध्यानाकर्षण गराएको छ।


Leave a Reply

Your email address will not be published.