राँझाको सुकुम्बासी बस्ती व्यवस्थापन

राँझाको सुकुम्बासी बस्ती व्यवस्थापन

नेपालगञ्ज राँझास्थित आदर्श माविको जग्गामा बसोवास गरिरहेका सुकुम्बासीलाई स्थानान्तरण गरिएपछि जग्गाको किचलो सदाका लागि साम्य भएको छ। 

सम्बाद समूह बाँकेको निरन्तर सम्बाद प्रक्रिया र वडा नम्बर २० वडा समिति कार्यालयको अग्रसरतामा डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको हो। 

विद्यालयको नेपालगञ्ज-२० गायत्रीनगरस्थित ३ बिघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौंदेखि सुकुम्बासीरभूमीहिनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका थिए।

२५ घर परिवार गतवर्ष नै उत्तरतर्फ सरे पनि बाँकि घरपरिवारलाई वडा कार्यालयले क्रमिकरुपमा व्यवस्थापन गरेको हो। विद्यालयको अतिक्रमित जग्गा अहिले खाली गरिसकिएको छ भने अधिकांश परिवार अन्यत्र घर बनाएर बसिसकेका छन्। 

वडाकै सहमतीमा विद्यालयको पश्चिमतर्फ १५, दक्षिणतर्फ १६ घरपरिवारलाई ऐलानी र नाली किनारको जग्गामा घर बनाउन दिइएको हो। सम्बाद समूह बाँकेको सहजीकरणमा गत वर्ष जेठ २ गते सुकुम्वासी र भूमिहिन, विद्यालय र वडा कार्यालयबीच बास्तविक सुकुम्वासीलाई विद्यालय र नाला वरिपरिको ऐलानी जमीनमा स्थानान्तरण गर्ने सहमती गरिएपछि व्यवस्थापन प्रक्रिया सुरु भएको थियो।

अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास असफल भएपछि सम्बाद समूह, बाँकेले दुई वर्षदेखि सरोकार पक्षसँग सम्बाद सहजीकरण गर्दै आइरहेको थियो। गृह मन्त्रालयले गत मंसीरमा विद्यालयको जग्गा खाली गर्न प्रशासनलाई परिपत्र गरेपछि थप दबाब बढेको थियो। 

वडा कार्यालयले ३१ घरपरिवारलाई ५०।५० हजारका दरले घर स्थानान्तरणका लागि सहयोग गरेको थियो भने सरकारका तर्फबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत २३ जनालाई ५०।५० हजार उपलब्ध गराइएको थियो। 

यसअघि नेपालगञ्ज उपहानगरपालिकाद्वारा कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा गठित अध्यन समितीले ४४ घरपरिवार वास्तविक सुकुम्वासी रहेको ठहर गरेको थियो तथापी अपांग, नागरिकता समेत नभएका गरि थप घरपरिवारलाई पनि व्यवस्थापन गर्नु पर्ने सुझाएको थियो।

गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई सञ्चालन भइरहे पनि बस्तीकै कारण हो हल्ला हुने, पढाइमा बाधा पुग्ने लगायतका समस्याहरू झेल्नु परिरहेको थियो। राँझा चौकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नु पर्ने बाध्यात्मक स्थिती रहेको थियो। दुवै स्थानमा गरेर चौध सय विद्यार्थी अध्यनरत रहेका छन्।

सम्बाद प्रक्रियामा सहभागी अपाङगता भएका व्यक्ति लाल बहादुर परियारले वस्ती, विद्यालय र वडा कार्यालयबीचको वर्षौदेखिको विवाद सम्बादकै कारण सम्भव भएको बताए। वडा नम्बर २० का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले निरन्तरको सम्बादबाट विद्यालयले आफ्नो जग्गा र सुकुम्वासीले बास पाएकोमा खुसी प्रकट गरे।


Leave a Reply

Your email address will not be published.