पटक-पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ।
असार १७ गते यता चार पटकसम्म स्थगित भएको स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बस्दैछ।
बैठक पछिल्लो पटक असार २६ गते स्थगित भएको थियो।
पार्टीभित्रको आन्तरिक किचलो अन्त्यका लागि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक-पटक छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन।
नेताहरू अझै सहमति जुटाउन लागिपरेका छन्।
शुक्रबारको स्थायी कमिटी बैठक औपचारिकताका लागि मात्रै बस्ने सम्भावना छ। बिहीबार साँझ खुमलटारमा बसेका प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्ष निकालिसकेको छ।
आजको स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिने जनाइएको छ।
नेकपा स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भएको हो।
त्यसअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा आफूलाई हटाउन भारत र पार्टीकै नेताहरू भित्रभित्र लागेको आरोप लगाएका थिए। र, निर्वाचन आयोगमा नेकपा (एमाले) नामक पार्टी दर्ताका लागि आवेदन परेपछि नेकपाको विवादले गम्भीर मोड लिएको थियो।
लगत्तै स्थायी कमिटी बैठकमा नेकपाका नेताहरुले प्रम ओलीको राजीनामा मागेका थिए।