पशुपतिका ठिटा पुजारी

पशुपतिका ठिटा पुजारी

पारि किनारामा चिताको धुँवा पुत्ताइरहेको हुन्छ, वारि पशुपतिको आँगनमा ‘आरती।’

र, त्यो आरतीको वत्ती नचाइरहेको हुन्छन्, पुजारी नवीन रेग्मी।

हर सन्ध्यामा पशुपतिमा गरिने यो ‘आरती’ २५ वर्षीय यी ठिटा पुजारी आजकल आकर्षण बनेका छन्। 

बुढापाका नै पुजारी हुनुपर्छ भन्ने कहाँ छ र? 

पशुपतिका पुजारीको त्यो भीडमा सबैभन्दा कम उमेरका पुजारी हुन् नवीन। 

गेरु वस्त्र लगाएर जब उनी एकसुरमा ‘शंखनाद’ गरिरहेका हुन्छन्, लाग्छ त्यो पशुपतिको पवित्र धुन हो। 

जब उनी आरती घुमाइरहेका हुन्छन्, जीवनको सबैभन्दा सन्तुष्टि त्यहीँ पाउँछन्। 

तन्नेरी पुजारीको पशुपति यात्रा

२०५२ सालमा नुवाकोटको बेलकोटगढी–१२मा जन्मेका हुन् नवीन।

ब्राहामण खानदानमा जन्मेका उनका बुवा गाउँघरमै पूजा लगाउँथे, जजमानी उनको खानदानी कर्म। 

पुजारी बासँगै नवीनले केही संस्कृतका श्लोक र मन्त्रहरु सानैमा टिपिसकेका थिए। 

बाआमा भन्थे, छोरोले बिडो थाम्ने भो।

तर, उनले संस्कृत पढेनन्। 

गाउँकै भृकुटी माविबाट एसएलसी पास गरेपछि उनी काठमाडौं छिरे। 

र उनी पढ्न भनि काठमाडौं आए।

ब्रिलियन्ट कलेजमा भर्ना भएका उनी हरेक दिनजसो पुशपति गइरहन्थे। त्यहाँको पूजा अनि आरती हेरिरहन्थे। 

विस्तारै उनलाई त, पशुपतिको ‘लत’ नै लाग्यो। 

कक्षा ११मा पढ्दै गर्दा, पशुपतिमै रहेको एकादश रुद्र मन्दिरमा छिरे। 

त्यहाँ उनका बुवाका साथी पुजारी थिए। त्यो मन्दिरका लागि अर्काे एकजना पुजारी चाहिएको पनि थियो। 

उनले मौका पाइहाले। 

उनी पुजारी बने, त्यो बेला उनी १७ वर्षका थिए। 

करिब तीन वर्ष रुद्र मन्दिरमा पुजारी भएपछि उनी पशुपति गंगा आरती सेवामा आए। जसले आरतीको व्यवस्था गर्छ।

आरती सिक्दा कम्ता सास्ती भोगेनन् उनले। बत्ती घुमाउँदा धेरैपटक हात पोलेको छ उनको।

‘त्यस्तो त धेरै दुःख भोगियो’ उनी भन्छन् ‘तर, मनले रोजेको कर्म थियो। सहेर बसेँ। अहिले त्यस्तो दुःख छैन।’ 

घरको एक्लो सन्तान हुन् उनी। प्लस टु पढ्दै गर्दा खर्च जुटाउन दुई वर्ष युनिलिभर कम्पनीमा काम पनि गरे।

बिहान कलेज, दिउँसो काम र साँझ पशुपतिको पूजा। 

जिन्दगी पूरै व्यस्त भइदियो। 

उनी पशुपतिमा पुजारी भएको कसैलाई थाहा थिएन, यहाँसम्म कि आफूसँगै बस्ने साथीलाई सम्म उनले भनेका थिएनन्। 

तर, एकदिन अचम्मै भो, आरतीमा आफ्नै कलेजका साथीहरु अनि पढाउने शिक्षकहरु पनि।

आरतीका लागि ‘स्वंय’सेवाका लागि त्यो दिन उनको आफ्नै कलेज आएको रहेछ। 

न उनले पत्याए, न उनका साथीहरुले नै उनलाई पुजारीका रुपमा पत्याए। 

सँगै आएका शिक्षकले भने ‘राम्रो काम’ भनेर धाप मारे। 

पूजा, आरतीसँगै उनले लोकसेवाको तयारी पनि गरिरहेका छन्। तर, पशुपति छोडेर होइन। 

पशुपतिसँग बेग्लै किसिमको पिरती बसिसकेको छ, नवीनको। 

र त, भन्छन् ‘जागिर खाएपनि पूजा त कहाँ छोड्छु र, पूजाको समय मिलेमात्रै जागिर खाने हो।’

पारि चिता, वारि आरती

लाखौ सुत बत्ती बल्ने पशुपतिको यो आँगनमा दिनमा सयौ लाश पनि जल्छन्। 

र, त्योसँगै नवीनको मन पनि खुब जल्यो सुरुसुरुमा। 

‘वारि म आरती गर्ने, परतिर लाश जल्ने, साहै्र नरमाइलो लाग्थ्यो सुरुसुरुमा’ उनी भन्छन् ‘आफूलाई सम्हाल्नै गाह्रो हुन्थ्यो।’

हो, जल्नेहरु त जलिजान्छन्, जलाउनेहरु रुन्छन् यहाँ। र, उनीहरुसँगै नवीन पनि रोएका छन्, धेरैपटक। 

गाउँमा पनि कसैको लाश देख्यो कि मन थाम्न सक्दैनथे। 

कसैको मलाम देख्यो कि, उनी दौडिएर घरभित्र छिरिहाल्थे। 

सुरुसुरुमा त निकै गाह्रो भयो उनलाई। ‘तर, विस्तारै आफूलाई बुझाउँदै गए। त्यो त नियति हो, जीवनको। सबैलाई आखिर यसैगरी जल्नु नै छ’ उनी भन्छन् ‘वारि र पारिको भेद पाउन समय लाग्यो।’

र, पशुपति नै उनको जीवनको नियति बनिदियो। 

भन्छन् ‘जीवनको सबै सुख त यहीँ नै छ, जानु कहाँ नै छ र?’


Leave a Reply

Your email address will not be published.