नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सर्यो, सहमति जुटाउन ओली-प्रचण्ड छलफलमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि शुक्रबार दिउँसाेका लागि सारिएको छ।
बिहान ११ बजे तय भएको स्थायी समिति ३ बजेलाई सारिएको हो।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सारिएको जानकारी दिए। यो बीचमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच छलफल हुने श्रेष्ठले बताए।
प्रधानमन्त्री ओलीलाई राजीनामा दिन नेताहरूको दबाब छ। उनी राजीनामा नदिने अडानमा छन्।
नेकपाको बैठक एक सातायता सारिँदै आएको छ। यसबीचमा दुई अध्यक्षबीच पटक-पटक छलफल भए पनि निष्कर्ष निस्किएको छैन।
छलफलका लागि अध्यक्ष दाहाल बालुवाटार पुगिसकेका छन्।
असार १७ गते यता चार पटकसम्म स्थगित भएको स्थायी कमिटी बैठक पछिल्लो पटक असार २६ गते स्थगित भएको थियो।
नेकपा स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भएको हो।
त्यसअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा आफूलाई हटाउन भारत र पार्टीकै नेताहरू भित्रभित्र लागेको आरोप लगाएका थिए। र, निर्वाचन आयोगमा नेकपा (एमाले) नामक पार्टी दर्ताका लागि आवेदन परेपछि नेकपाको विवादले गम्भीर मोड लिएको थियो।
लगत्तै स्थायी कमिटी बैठकमा नेकपाका नेताहरुले प्रम ओलीको राजीनामा मागेका थिए।