सुनसरीमा प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान, दुई जना पक्राउ

सुनसरीमा प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान, दुई जना पक्राउ

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ पानीट्याङकीमा प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान भएको छ।

पाँच जनाको समूहमा रहेका हतियारधारीमाथि चेकजाँच गर्दा प्रहरीमाथि लक्षित गरी गोली चलाएपछि दोहोरो हानाहान भएको सुनसरी प्रहरीले जनाएको छ। 

यसक्रममा आटोमटिक पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका-२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादवलाई पक्राउ गरेको हो।

गस्तीमा रहेको प्रहरी टोलीले तीन जना भारतीय नागरिकसहित दुइवटा मोटरसाइकलमा आएका पाँच जनाको समूहलाई रोकेर चेकजाँच गरेको थियो।

यसक्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी फायर खोलेपछि प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाइते भएको र अन्य तीन जना भारततर्फ नै फरार भएको थापाले बताए। 

घटनास्थलबाट प्रहरीले युएसए अटोमटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल एक थान र अनटेस्ट मोटरसाइकल एक थान बरामद गरेको छ। 

घाइते भएका दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.