सात करोड ठगेर भागेका जिन्दल ठिमीमा पक्राउ

सात करोड ठगेर भागेका जिन्दल ठिमीमा पक्राउ

करोडौं ठगेको आरोपमा प्रहरीले झापा दमक-७ कृष्णमन्दिरका २९ वर्षीय चन्दन जिन्दललाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले जिन्दललाई मध्यपुर ठिमी-३ गठ्ठाघरबाट बिहीबार साँझ पक्राउ गरेको हो।

उनीविरूद्ध झापा, बारा, पर्सा र सर्लाहीका २२ जना व्यक्तिको सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा छ।

मनिष अग्रवाल परिचय दिएर विभिन्न बहानामा जिन्दलले व्यक्तिहरूलाई ठगेको महाशाखाले जनाएको छ। उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुरको मुद्दा छ। यस्तै, इलाका प्रहरी कार्यालय दमकमा पनि ठगी मुद्दा छ।

उच्च अदालत जनकपुरले वीरगन्जबाट र जिल्ला अदालतबाट उनीविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो। जिन्दलबाट ठगिएका व्यक्तिले उजुरी दिने क्रम जारी रहेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। 

जिन्दलले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरूलाई विश्‍वासमा लिएर उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरूलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ। झापातिर जमिन र हार्डवेयर व्यवसायमा ठगी गरेको बुझिन आएको महाशाखाले जनाएको छ। जिन्दललाई जिल्ला प्रहरी कार्यालय बारा लगिएको छ।


Leave a Reply

Your email address will not be published.