क्रसर सञ्चालक गाउँपालिका प्रमुखमाथि टिपर व्यवसायीद्वारा खुकुरी र छुरा प्रहार

क्रसर सञ्चालक गाउँपालिका प्रमुखमाथि टिपर व्यवसायीद्वारा खुकुरी र छुरा प्रहार

क्रसर सञ्चालक गाउँपालिका प्रमुखलाई टिपर व्यवसायीले खुकुरी र छुरा प्रहार गरेका छन्।

मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीमाथि शुक्रबार बिहान कार्यालयमै खुकुरी प्रहार भएको हो। 

प्रहरीका अनुसार खुकुरी प्रहारबाट प्रमुख कार्की गम्भीर घाइते भएका छन्। कार्कीको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

बिहान कार्यालय प्रवेश गर्नेवित्तिकै प्रमुख कार्कीमाथि केराबारी-१० का भवन ठकुरीले खुकुरी प्रहार गरेका थिए। 

ठकुरीले सुरक्षा गार्डको खुकुरी खोसेर प्रमुख कार्कीको टाउकोमा प्रहार गरे। खुकुरी प्रहारबाट प्रमुख कार्कीको टाउकोमा दुई ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। उनको पेटमा छुरा पनि हानिएको छ। 

प्रहरीले घटनालगत्तै खुकुरी प्रहार गर्ने ठकुरीलाई पक्राउ गरेको छ। ठकुरी ठेक्कापट्टामा संलग्न छन्। उनी टिपर, ट्रयाक्टरका सञ्चालक हुन्। 

केराबारीका प्रमुख कार्की त्यहाँका क्रसर व्यवसायी हुन्। उनको क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको छ।

क्रसर व्यवसायी र ढुवानी तथा ठेक्का कारोबारमा संलग्न दुईबीच आपसी लेनदेन र कारोबारको विवाद भएकैले घटना भएको प्रहरीको दाबी छ। स्थानीय निर्वाचनमा ठकुरीले कार्कीकै पक्षमा प्रचार गर्दै युवाहरू परिचालन गरेका थिए।


Leave a Reply

Your email address will not be published.