जग्गा बैनाको २५ लाख उठाउन अपहरण गरिएका साहको सकुशल उद्धार, सात पक्राउ

जग्गा बैनाको २५ लाख उठाउन अपहरण गरिएका साहको सकुशल उद्धार, सात पक्राउ

टोखा बस्दै आएका रामबाबु साहलाई भक्तपुरका आशालाल प्रजापतिले जग्गा बैनावापत २५ लाख रुपैयाँ दिएका थिए। 

तर, साहले प्रजापतिलाई जग्गा दिएनन्। पटक-पटक ताकेता गर्दा पनि जग्गा नपाएपछि उनले बैना फिर्ता माग्न थाले। 

तर, साहले लकडाउनको समय भन्दै विभिन्न बहानामा बैना फिर्ता गर्न सकिरहेका थिएनन्। 

शुक्रबार बिहानै तिनै रामबाबुलाई जग्गा बैनाको पैसा फिर्ता माग्न अपहरण गरी तीन घन्टा बन्धक बनाइएको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले घटना थाहा पाएलगत्तै लोकन्थलीस्थित आशालालको घरमा छापा मारेर रामबाबुको सकुशल उद्धार गरेको छ। 

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार यो घटनामा आशालालसहित सात जना पक्राउ परेका छन्। 

अपहरण गर्नेहरूले रामबाबुका छोरालाई फोन गरेर पच्चीस लाख पैसा अथवा चेक नदिए मुक्त नगर्ने भनी धम्क्याइरहेका थिए। उक्त कुरा प्रहरीले साढे १० बजे थाहा पाएको थियो। 

‘रामबाबुका छोराले खबर गरेपछि प्रहरी टोली परिचालन भयो, साढे तीन घन्टाभित्रै उद्धार गर्न सकियो,’ थापाले भने। 

यो घटना जग्गा कारोबारबाट उत्पन्न भएको देखिन्छ। मनसाय पैसा उठाउने भए पनि आपराधिक मनोबृत्ति अपनाइएको देखिएको छ। ‘घटनाबारे अनुसन्धान भइरहेको छ, कहाँको के जग्गा भन्ने राम्ररी खुलिसकेको छैन,’ थापाले भने।


Leave a Reply

Your email address will not be published.