अख्तियारको ३० वर्षे इतिहासमै सबैभन्दा बढी मुद्दा दायर, राष्ट्रसेवक कर्मचारी र नेता बढी भ्रष्ट

अख्तियारको ३० वर्षे इतिहासमै सबैभन्दा बढी मुद्दा दायर, राष्ट्रसेवक कर्मचारी र नेता बढी भ्रष्ट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीस वर्षको इतिहासमै पहिलोपटक यस वर्ष बढी मुद्दा दायर भएका छन्।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४४१ वटा मुद्दा अदालतमा दर्ता भएका छन्। यो तीन वर्षको इतिहासमा सबैभन्दा बढी मुद्दा दायर भएको वर्ष हो।

बितेको आर्थिक वर्षमा अख्तियारले ३५१ वटा मुद्दा अदालतमा पुर्‍याएको थियो।

प्रवक्ता प्रदीपकुमार कोइरालका अनुसार यस वर्ष जम्मा उजुरी २४ हजार ८९० वटा आएका थिए। तीमध्ये १६ हजार ५८६ वटा फर्स्यौट भएका छन्। प्रतिशतको हिसाबले यो ६७ दशमलव ६४ हो। यस वर्ष विस्तृत अनुसन्धानमा गएका १ हजार ११४ मुद्दा रहेको कोइरालाले बताए।

दर्ता भएकामध्ये यस वर्ष अदालतबाट फैसलामध्ये ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ। गत आर्थिक वर्षमा मा दायर भएको मुद्दाको संख्या ३५१ र भ्रष्टाचारजन्य कसुर कायम भएको दर ८६.५ प्रतिशत थियो।

दायर भएका मुद्दामध्ये सबैभन्दा बढी घुस लिएका मुद्दा छन्। त्यस्ता मुद्दा २०६ छन्।

यसपछि नक्कली शैक्षिक प्रमाण पत्रका छन्। कोइरालाका अनुसार त्यस्ता मुद्दा ८५ वटा छन्।

सार्वजनिक सम्पत्तिको हानी नोक्सानीका ७४, गैरकानुनी लाभहानी ३६, राजश्व हिनामिना १२, गैरकानुनी सम्पत्ति आरुजन १८ र अन्य १० वटा विविध मुद्दा छन्।

यस वर्ष दायर भएका मुद्दामा कुल प्रतिवादी संख्या १ हजार १९६ रहेका छन्। जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी ६ जना, अन्य राष्ट्रसेवक कर्मचारी ८०३ जना, बिचौलिया/मतियार लगायत अन्य ३१५ जना छन् भने भूतपूर्व उपप्रधानमन्त्री एक जना र भूतपूर्वमन्त्री दुई जनासहित निर्वाचित/मनोनित पदाधिकारीहरु जम्मा ७२ जना रहेका छन्।

आयोगले दायर गरेका मुद्दामध्ये प्रत्येकमा एक करोडभन्दा बढी बिगो कायम गरी दायर भएका मुद्दाको संख्या २८ छ। यस आवमा दायर भएका मुद्दाहरुमध्ये उच्च पदाधिकारीहरु संलग्न रहेका अनियमितता/भ्रष्टाचार सम्बन्धी विषयका मुद्दाहरुको संख्या उल्लेख्य रहेको कोइरालाले बताए।

गैरकानूनी सम्पत्ति आर्जनतर्फका १८ वटा मुद्दामा जम्मा बिगो १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ मागदाबी लिइएको छ। जसमा एउटै मुद्दामा १७ करोड ८३ लाख ४१ हजार ५७९ बिगो मागदाबी लिइएको छ।

यस आवमा कूल घुस/रिसवत कारबाहीको संख्या १८१ रहेकोमा कारबाहीमा परेका २७७ व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी २०८ जना छन्। जसमध्ये दुई जना विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी रहेका छन्। २०६ जना अन्य राष्ट्रसेवक कर्मचारी रहेका छन्।

त्यसैगरी, ५५ जना बिचौलिया/मतियार र १४ जना निर्वाचित/मनोनित पदाधिकारी परेका छन्।

 


Leave a Reply

Your email address will not be published.