शेयर धिताेमा ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने

शेयर धिताेमा ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने

नेपाल राष्ट्र बैंकले कोभिड–१९ प्रकोपको कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न भन्दै उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता क्षेत्रका सहुलियतपूर्ण कर्जालाई सरलीकरण गरेको छ। 

बैंक तथा वित्तीय संस्थाबाट तोकिएका क्षेत्रमा यस्तो कर्जा ऋणीलाई ५ प्रतिशत ब्याजदरमा उपलब्ध पाउने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

आर्थिक वर्ष ०७७/०७८ को मौद्रिक नीति प्रस्तुत गर्दै उनले सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित क्षेत्र र वर्गमा कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैंकले कम्तीमा पाँच सय वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तीमा ३ सय वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने बताए।

विकास बैंकले आफ्नो कुल कर्जा लगानीको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीले न्यूनतम १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम, उर्जा र पर्यटन लगायत तोकिएका क्षेत्रमा ०८१ असार मसान्तसम्ममा प्रवाह गर्नुपर्ने छ।
 
यसैगरी, आवास कर्जाको सीमा पनि निर्धारण गरिएको छ। ‘शहरी विकास र व्यवस्थित बसोबास प्रोत्साहित गर्ने उद्देश्यले अनुमति प्राप्त घर–जग्गा व्यवसायीबाट सञ्चालन गरिने नेपाल सरकारबाट स्वीकृति प्राप्त निर्माणाधीन आवास आयोजनाको लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षण मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ।

घरजग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात यथावत राखिएको छ। काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गर्नुपर्ने विद्यमान व्यवस्था छ।

शेयर धितोराखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने छन्।

शेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिकोकर्जा प्रवाहमा शेयरको मूल्याङ्कन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन कायम गरिएको छ।


Leave a Reply

Your email address will not be published.