लिम्पियाधुरासहित नयाँ नक्साबारे पुस्तक प्रकाशन गर्ने तयारी 

लिम्पियाधुरासहित नयाँ नक्साबारे पुस्तक प्रकाशन गर्ने तयारी 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताएकी छन्।

मन्त्रालयले शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिएकी हुन्। सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले बताइन्। 

'कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविष्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौ' मन्त्री अर्यालले भनिन्। 

मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगको जमर्को गरिरहेको भन्दै उनले एकपछि अर्को गर्दै बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको बताइन्। 

राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपुर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन्। 
'ती बुझाइका अनेकतालाई एकरुपतामा ल्याउनका निम्ती इतिहासलाई हामीले लिपिबद्ध गर्न गइरहेका छौ', उनले भनिन्। 

भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमी शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक मन्त्री अर्यालले बिमोचन गरेकी हुन्। 

कार्यक्रममा पुस्तकका बारेमा जानकारी दिँदै मन्त्रालयबाट गत वैशाखमा अवकाश प्राप्त उपसचिव गोपाल गिरीले प्रत्येक शब्दहरुमा बिवाद र दोहोरो अर्थ लाग्ने समस्या देखिन थालेपछि मन्त्रालयले भूमि शब्दकोष तयार पारेको र यसलाई समयअनुसार परिमार्जन गर्दै शब्द थप्दै जानुपर्ने बताए। 

त्यस क्रममा गण्डकी प्रदेशको सचिवका रुपमा सरुवा भएर जान लागेका मन्त्रालयबाट सहसचिव चन्द्रकला पौडेल र मन्त्रालयबाट अवकाश प्राप्त उपसचिव गोपाल गिरीलाई विदाई गरिएको थियो।


Leave a Reply

Your email address will not be published.