भक्तपुर नगरप्रमुखलाई प्याब्सन र एनप्याब्सनकाे पत्र

भक्तपुर नगरप्रमुखलाई प्याब्सन र एनप्याब्सनकाे पत्र

भक्तपुरका संस्थागत विद्यालयहरूका प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

संस्थागत विद्यालय संगठन (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो।

संस्थागत विद्यालय संघले हस्तान्तरण गरेको ध्यानाकर्षण पत्रमा नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीको अभिलेखीकरण गरी पाठ्यपुस्तकलगायत शिक्षण सामग्री व्यवस्थापन गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको छ।

विद्यालयमा आवश्यक पूर्वाधार व्यवस्थापनसहित जोर बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन, क्वारेन्टाइनलाई प्रयोग भएका विद्यालयको स्थानान्तरण र निर्मलीकरणको व्यवस्थापन गरिदिन, शैक्षिक क्यालेन्डरका सार्वजनिक बिदा र जाडो विदालाई कटौती गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण गर्न अनुरोध गरिएको छ।

एक महिनाको मासिक पढाइ शुल्क छुट गरी अन्य शुल्क संकलन गर्न पाउने व्यवस्था, विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको तलबभत्तालगायत अन्य खर्चको व्यवस्थापननिम्ति उचित सहयोग तथा घरजग्गा बहाल कर, व्यावसायिक करलगायतमा छुटको व्यवस्थानिम्ति भक्तपुर नगरपालिकासँग अनुरोध गरिएको छ।

भक्तपुर नगरप्रमुख सुनील प्रजापतिले सिंगो समाजलाई कोभिड-१९ को संक्रमण फैलनबाट कसरी जोगाउने भन्ने विषयमा नगरपालिकाले गम्भीरतापूर्वक आवश्यक सतर्कता अपनाउँदै आएको बताए।

संकटको घडीमा कक्षामा विद्यार्थी भेला गरेर पढाउनभन्दा विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्नु नै उचित हुने प्रजापतिले जानकारी गराए। 


Leave a Reply

Your email address will not be published.