मेलम्चीमा बगेको इन्जिनियर-सपना

मेलम्चीमा बगेको इन्जिनियर-सपना

घरमा शोकको सन्नाटा छाएको छ। कोही कसैसँग बोलिरहेका छैनन्। एकअर्कालाई टुलुटुलु हेरेर सबैजना बसेका छन्। रुँदारुँदा आमाको आँशु पनि सुकिसकेको छ। बेला-बेला छोरा सम्झिएर मञ्ज‌ु भक्कानिन्छिन्। रुन्छिन्, कराउँछिन। फेरि, एकछिनपछि अचेत।

आमा मञ्ज‌ुको भन्दा फरक हाल छैन उनका बुवा अमरकिशोर गोइतको। जवान छोरा अब यस दुनियाँबाट धेरै पर गइसकेको भन्दै विश्वास गर्न सकिरहेका छैनन्, उनीहरू। हजुरबुबा, बुबा, आमा सबैजना राेइकराइ गरिरहेका छन्। छोरा फर्केर आइदेउ भन्दै आमा विलाप गरिरहेकी छिन्। तर, दैवले चाहेविपरीत केही हुँदो रहेनछ संसारमा।

२५ वर्षीय इन्जिनियर छोरा सतिशको मेलम्चीमा बगेर मृत्यु भइसकेपछि परिवारका सबै सदस्य अब को भनेर बाच्ने भन्दै बिलौना गरिरहेका छन्।

जनकपुरधाम-४ कदम चोकस्थित सतिशको घरमा आफन्त तथा छिमेकीहरूको भीडभाड छ। शोकमा रहेको परिवारका सदस्यहरूलाई आफन्तले सान्त्वना दिइरहेका छन्।

जनकपुरबाट एसएलसी र १२ उत्तीर्ण गरिसकेपछि भारतको बेंगलोरबाट सतिशले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। पढाइ-लेखाइमा उनी सानैदेखि अब्बल थिए। सायद, त्यसैले उनले इन्जिनियरिङ पढ्ने निधो गरे।

भारतबाट इन्जिनियरिङ पढेर आइसकेपछि केही दिन उनले काठमाडौंको एक निजी फर्ममा जागिर गरे। निजीमा जागिर गरिरहेकै बेला मेलम्ची खानेपानी आयोजनाका लागि इन्जिनियरको माग रहेको उनले थाहा पाए। आवेदन भरे। र, जागिर पनि भयो।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्न गएका बेला मंगलबार दिउँसो सुरुङको १७ नम्बर गेट फुट्यो। सतिशसँगै गाडी चालक राधाकृष्ण थापा बेपत्ता भए।

खोजतलाश क्रममा सतिशको शव बुधबार अपराह्न मेलम्ची नगरपालिका-११ पाल्चोकी क्रसर नजिक फेला पर्‍याे। सतिशको शव जनकपुर ल्याएर बिहीबार अन्त्येष्टि गरिएको छ।

करिब एक वर्षदेखि मेलम्चीमा कार्यरत सतिश बेपत्ता भएको खबर आउनासाथ घरमा रुवाबासी सुरु भइसकेको थियो। यद्यपि, आफन्तले सतिश सकुशल फिर्ता आउने सान्त्वना दिइरहेका थिए। तर, उनी आएनन्, आयो केवल उनको शव।

प्रहरी प्रशासनले बेपत्ता नाती खोजबिन गर्न ढिलाइ गरेको किरिया बसेका हजुरबुबा कृष्णवीरको गुनासो छ।

‘सरकारले सतिशलाई खोज्न चासो देखाएन, समयमै उद्धार भएको भए उ जीवित नै हुन्थ्यो होला,’ कृष्णवीर भन्छन्,‘नातीले किरिया गर्नुपर्नेमा म उसको किरिया बसेको छु।’

नाती बेपत्ता भएको खबर पाएलगत्तै कृष्णवीरले खोजबिन गराउन आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेनन्। कुनै समय शिक्षक नेतासमेत रहिसकेका उनले नातीको खोजबिनमा पहल गरिदिन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीदेखि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद उमाशंकर अरगरियासम्मलाई गुहारेका थिए।

इन्जिनियर बनेर आइसकेपछि बिहे गर्ने सतिशले भनेका रहेछन्। ‘इन्जिनियर पढेर जागिर खाइसकेपछि बिहे गर्छु भनेको थियो,’ हजुरबुबा कृष्णवीर भन्छन्, ‘उसकै चाहनाअनुसार हामी पर्खेर बसेका थियौं।’

सतिशले भनेअनुसार गएको वैशाखमा सप्तरीकी एक युवतीसँग टिकाटालो भएको थियो। बिहे मंसिरमा हुने तय भएको थियो। ‘उसैको चाहनाअनुसार वैशाखमा टिकाटालो गरेर मंसिरमा बिहे गर्ने तय भएको थियो, तर अब सबै थोक सकिएको छ,’ भक्कानिएर कृष्णवीरले भने।

युवाहरूले गरे श्रद्धाञ्जलीसभा

मेलम्ची सुरुङ परीक्षण गर्ने क्रममा सतिशको निधन भएपछि जनकपुरका युवाहरूले श्रद्धाञ्जलीसभा आयोजना गरेका छन्। स्थानीय युवाले सतिशप्रति समवेदना व्यक्त गर्न जानकी मन्दिर प्राङ्गणमा श्रद्धाञ्जलीसभा आयोजना गरेका हुन्।

कर्तव्यपालन क्रममा जनकपुरले होनहार युवक गुमाएको उनीहरूको भनाइ छ। श्रद्धाञ्जलीसभाका सहभागीले सतिशको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन्।


Leave a Reply

Your email address will not be published.