जनकपुरमा मागियो खानेपानी मन्त्री मगरको राजीनामा

जनकपुरमा मागियो खानेपानी मन्त्री मगरको राजीनामा

खानेपानीमन्त्री बिना मगरको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ। मेलम्ची निर्माण कमसल भएर २५ इन्जिनियर सतीश गोइतको ज्यान गएको भन्दै युवाहरूले मन्त्री मगरको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरेका हुन्।

मेलम्चीमा सुरुङ निरीक्षण गर्न पुगेका इन्जिनियर गोइत मंगलबार वेपत्ता भएका थिए। गोइतको शव बुधबार फेला परेको थियो। 

मेलम्ची खानेपानी आयोजनामा मन्त्री मगर स्वयं भ्रष्टाचारमा लिप्त रहेको कारण सुरुङ भासेर गोइत वेपत्ता भएको युवाहरूको दाबी छ। घटनामा इन्जिनियर गोइतको मृत्यु भइसकेपनि संघीय सरकारले हालसम्म केही नबोल्नु दुःखद् रहेको उनीहरूको भनाइ छ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा कार्यरत इन्जिनियर गोइतलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न युवाहरूले माग गरेका छन्। गोइतलाई सहिद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन उनीहरूले प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएका छन्।

मेलम्चीमा निधन भएका गोइतलाई न्याय दिलाउन आइतबार प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने उनीहरूले जनाएका छन्। मेलम्ची घटनाका दोषीहरूलाई सरकारले कारबाही नगरे युवाहरूले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

प्रदर्शनपछि भानु चोकमा नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साह, जनता समाजवादी पार्टीका युवा नेता नविन यादव, प्रशान्त झा, मनिष कर्ण, गौतम यादव, किसन साहलगायतका युवाहरूले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published.