संरक्षणको अभावमा कुरुप बन्दै ऐतिहासिक बाह्रबिघा मैदान

संरक्षणको अभावमा कुरुप बन्दै ऐतिहासिक बाह्रबिघा मैदान

जनकपुरको रङमूमि मैदान। त्रेता युगमा विवाहपूर्व भगवान राम र सीताको स्वयम्भर भएको स्थान। रङभूमि मैदानलाई बाह्रबिघापनि भन्ने गरिएको छ। मैदानको क्षेत्रफल बाह्रबिघा भएकोले रङभूमि मैदानलाई बाह्रबिघा पनि भनिएको हो।

जनघनत्व बढिरहेको जनकपुरको बीच सहरमा बाह्रबिघा क्षेत्रफल भएको मैदानले शोभा बढाएको छ। विभिन्न धार्मिक प्रयोजनदेखि खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न बाह्रबिघा मैदानले जनकपुरलाई सघाएको छ। जनकपुर भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बाह्रबिघा मैदानमै नागरिक अभिनन्दन गरिएको थियो।

तर, धार्मिक र सांस्कृतिक महत्व बोकेको जनकपुरस्थित रङभूमि मैदान संरक्षणको अभावमा कुरुप बन्दै गएको छ। सरोकारबला निकायहरूले चासो नदिएपछि बाह्रबिघा मैदान दुई दिनको सामान्य वर्षामा जलमग्न भएको छ। यसपटकमात्र नभएर हरेक वर्ष वर्षातको मौसममा बाह्रबिघा मैदान पौडीस्थल बन्दै आइरहेपनि प्रमुख सरोकारबला निकाय बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले संरक्षण र सौन्दर्यीकरणतर्फ ध्यान दिनसकेको छैन्।

बाह्रबिघा मैदानको सौन्दर्यीकरण र संरक्षणको लागि भारत सरकारले समेत आर्थिक सहयोग गरिसकेको छ। तर, स्वरुप भने परिवर्तन हुनसकेको छैन्।

जनकपुर चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं युवा अभियन्ता सरोज मिश्र बाह्रबिघा मैदानको सौन्दर्यीकरण एवं विकासको नाममा भारतीय दूतावासदेखि विभिन्न शीर्षकमा बजेट छुट्याएर पैसा कुम्ल्याउने र कुरुप बनाउने कामबाहेक अरु केही हुननसकेको आरोप लगाउँछन्। बाह्रबिघा मैदान वृहत्तर मातहत परेपनि संरक्षण र सौन्दर्यीकरणका लागि उसको ध्यान पुग्न नसकेको मिश्र बताउँछन्।

‘बाह्रबिघा मैदान वृहत्तरमातहत पर्दछ, त्यसको संरक्षण र सौन्दर्यीकरण गर्नतर्फ ध्यान पुगेको छैन्,’ मिश्र भन्छन्,‘प्रमुख सरोकारबलाले नै ध्यान नदिएपछि वर्षामा पौडीस्थल र अन्य समय फोहोर थुपार्ने डम्पीङ साइटको रुपमा प्रयोग भइरहेको छ।’

डा.मियावाकीले वातावरण तथा प्रदुषण नियन्त्रणसम्बन्धी सञ्चालन गरेको परियोजनाअनुसार बाह्रबिघा मैदानभित्र चारैतर्फ वृक्षारोपण गर्ने योजना लिएर वृहत्त पुगेको थियो। वृक्षारोपण हुँदा वातावरण संरक्षणका साथै बाह्रबिघाको सौन्दर्यीकरण गर्ने योजना राखिएको थियो।

तर, वृक्षारोपणको योजना लिएर वृहत्तर पुग्दा निर्देशक बलराम ठाकुरले सुन्नसमेत नचाहेको मिश्र बताउँछन्। ‘बाह्रबिघाको चारैतर्फ पर्खाल छेउमा तराइ मधेशबाट लोप हुँदै गएको विरुवाहरू लगाउने योजना लिएर हामी पुगेका थियौं,’ मिश्र भन्छन्,‘तर, वृहत्तरका कार्यकारी निर्देशकले योजना नै सुन्न चाहनु भएन्।’


Leave a Reply

Your email address will not be published.