‘र्यापवाला’ देउडा
छोर्याट्टा र छोर्याट्टी, अर्थात् केटा र केटी।
रातभर गीतमै सवालजवाफ हुन्थ्यो। गीतमै घम्साघम्सी हुन्थ्यो, गीतबाटै प्रेम हुन्थ्यो।
कतिको त घरबारै जोडिन्थ्यो।
देउडा हेर्न (सुन्न) कै लागि टाढा–टाढाबाट मानिसको जमघट हुन्थ्यो।
चोटिला सवाल, चोटिलै जवाफ। नाच्ने, गाउनेलाई मात्रै होइन, हेर्ने सुन्नेलाई पत्तै हुँदैनथ्यो रात बितेको।
वर्षभरि विदेशिएका लाहुरे चाड पर्वमा घर फर्किन्थे।
ठूला–ठूला ‘टेप’ बोकेर आएका उनीहरू पनि डेउडामा खुब रम्थे। देउडा गीतकै एल्बम (क्यासेट) बोकेर चाडपर्व सक्किएपछि फेरि (बम्बै) भारत जान्थे।
तर, अब समय फेरिइसकेको छ।
र, सँगै भाका फेरिएका छन्। लय फेरिएका छन् अनि शव्द फेरिएका छन्।
मौलिकको चिन्ता
सुदूरपश्चिम प्रदेशको संस्कृतिका ज्ञाता, प्राध्यापक तथा समीक्षक गणेश जोशी देउडामा विकृति भित्रिएको भन्दै चिन्ता व्यक्त गर्छन्।
आधुनिकीकरणको नाममा गीतको मर्म नै मर्ने गरी देउडालाई तोडमोड गर्न नहुने उनको तर्क छ।
‘यस्ता गीत मौसमी गीतमात्र हुन्। यीनले समाजमा दिर्घकालीन छाप छाड्दैनन्,’ उनी भन्छन्।
‘अहिले पनि नेपाली सांगीतिक जगतमा नारायणगोपाल, गोपाल योन्जनका गीत किन अजर छन्? किनकि तिनमा गीतको खास मर्म छ र स्रोताले अहिलेसम्म मन पराएका छन्,’ जोशी भन्छन्।
उनी बिगारेर गाइने गीतलाई मौसमी गीतको संज्ञा दिन्छन्। जसको आयु केही महिनामात्र हुन्छ।
‘देउडा’ नाममात्रै
चाडपर्वमा हिन्दी र र्याप बज्नेमात्र होइन अहिले नयाँ पुस्ताले देउडा गीतमै र्याप भित्र्याएका छन्।
देउडा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा गाइने चर्चित भाका हो। जसको आफ्नै मौलिकता छ।
नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाई प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको विश्वास छ। देउडा गीतका शव्दहरू खस भाषामा आधारित हुन्छन्।
'न्याल्या खेल खेल्दा खुट्टा डेढ स्टेपमा चालिने भएकाले डेढिको प्रमुखतालाई मध्यनजर गरी पछिल्लो समयमा यसलाई देउडा भन्ने गरिएको हो। कुमाउ तिर अझै पनि न्याउल्या खेल र न्याउल्या गीतै भन्ने गरिएको पाइन्छ,’ उनी भन्छन्।

तर, उपाध्याय त्यति लामो इतिहास बोकेको देउडाको मौलिकता मासिँदै गएको प्रति भने चिन्तित छन्।
‘देउडाको एउटा इतिहास छ। यो मनोरञ्जनका लागि मात्र नभएर कालीकर्णालीको संस्कृतिसँग जोडिएको एउटा इतिहास हो,’ उपाध्याय भन्छन्, ‘यसको मौलिकता मास्नु हुँदैन। देउडामा र्याप भित्र्याउनु हुँदैन।’
पप र्याप पनि आफ्नै मौलिकता बोकेका गीत भएकाले जुनजुन विधाको गीत हो त्यो त्यही रूपमा गाउनुपर्ने उनको भनाइ छ। यसरी इतिहास मास्दै जाँदा कुनै दिन किताबको पानामा मात्र सीमित हुने भन्दै उपाध्याय चिन्ता व्यक्त गर्छन्।
यस्तै युवापुस्ताका गायक गोविन्द साउद पनि देउडामा केही युवाले र्याप भित्र्याएकोमा खुशी छैनन्।
‘आधुनिकताको नाममा मनलाग्दी गर्नु राम्रो होइन। युवापुस्ता पनि आफ्नो इतिहासप्रति गम्भीर हुनुपर्छ,’ उनी भन्छन्, ‘यसले केही क्षणका लागि केही व्यक्तिलाई चर्चित बनाउला, केहीले आर्थिक रूपमा पनि क्षणिक फाइदा उठाउलान् तर यसले इतिहास मेट्न ठूलो भूमिका खेल्ने छ र समाजमा दिर्घकालीन असर पर्ने छ।’
राज्यप्रति कलाकारको असन्तोष
डेउडामा र्याप घुसाएर संस्कृतिमाथि प्रहारमात्र भएको छैन। भाषाको प्रयोगसमेत त्रुटिपूर्ण छ। देउडाकर्मीका अनुसार देउडामा र्याप आफैं नसुहाउने कुरा हो।
झनै र्यापको भाषामा डोटेली भाषाका साथै नेपालीलगायत अन्य भाषा प्रयोग हुनुले संस्कृतिमात्र नभएर भाषामाथि पनि प्रहार भइरहेको उनीहरूको बुझाइ छ।
पाँच दशकभन्दा लामो समयदेखि देउडामा सक्रिय वरिष्ठ देउडा गायक दलबहादुर बोगटी भने देउडामा र्याप भित्रिनु निकै चिन्ताको विषय भएको ठान्छन्।
देउडा विशुद्ध देउडा हुनुपर्ने उनी ठान्छन्। उनी देउडाको मौलिकतालाई नमास्न पनि आग्रह गर्छन्। उनी देउडा खेल्दै रात बिताएको र कैयनको देउडा खेल्दै प्रेम बसेर घरबार नै जोडिएको स्मरण गर्छन्।
‘धौलीको ब्याँ’ भन्ने गीतमा र्यापर राजेन्द्र भट्टले प्रस्तुत गरेको र्याप यस्तो छ :
तेरा आसरामी बस्सा बस्सै, जवानी उसै जान्या भइग्यो।
तुलाई मेरी आफ्नो बनाउन्या सपना सप्नै रइग्यो।
दिमाखको बत्ती जला, थोक्कै लाज माणिहाल अब।
दक्दीकन तेरो बैनीको चेलोलै बा भण्या भइग्यो।
उनी यस्ता र्यापले संस्कृति जोगिनै नसक्ने दावा गर्दै एक मौलिकता बोकेको गीतको लाइन सम्झिन्छन्–
छोर्याट्टो- तरबारमा सान लगाइने, खुकुरीमा म्यान।
एकै सूर्ज घाम ताप्दा छु, भेन हुनिन क्यान।।
छोर्याट्टी- अैल भोट्या मरी गयो, भोटको नुन दिन्या।
को बैरिब बाटा बस्यो, भेटैन नहुन्दिन्या।।
पछिल्लो समय देउडाका शव्द संकलनमा सक्रिय राजेन्द्र शाह ‘बिपी’ पनि अहिले यो बहसयोग्य विषय भएको मान्छन्। शाहद्वारा कोरिएका सबै गीत पछिल्लो समय चर्चित हुने गरेका छन्।
उनी शव्दमा शक्ति भएको गीतलाई स्रोताले मन पराउने विश्वास लिन्छन्।
तर, उनको अन्य सर्जनको भन्दा फरक मत छ। शाह कलाकारहरूको मात्र नभएर राज्यको पनि कमजोरी यसमा प्रमुख कारक रहेको मान्छन्।
विभिन्न क्षेत्रमा राज्यले लिने ‘डोनेसन’ सँगै पाश्चात्य संस्कृतिले जरा गाडिरहेको उनी ठान्छन्।
‘जसको असर सांगीतिक क्षेत्रमा पनि परेको छ,’ उनी भन्छन्, ‘राज्यले मौलिक गीत संगीत बचाउन कस्तो संयन्त्र बनाएको छ। त्यसले महत्व राख्छ। यसमा राज्य पनि जिम्मेवार छ।’
‘टिपिकल’ गीत र कलाकारलाई संरक्षण गर्ने संयन्त्र नभएकाले कतिपय कलाकारले सांगीतिक क्षेत्रमा टिकिराख्नकै लागि यस्ता खाले गीत गाउने गरेको शाहको बुझाइ छ। मेला–महोत्सवमा पनि टिपिकल गीतले स्थान नपाउने भन्दै सामाजिक स्तरबाट नै यसमा प्रश्रय भइरहेको उनको भानइ छ।
‘देउडा र्यापर’ का कुरा
र्यापर राजेन्द्र भट्ट देउडामा र्याप हान्दै नहानेको दाबी गर्छन्। उनले देउडामा नभई डोटेली भाषामा र्याप हानेको बताए।
के डोटेली भाषामा पनि र्याप हुन्छ र? भाषामा कसरी ¥याप भयो भन्ने आयोमेलको प्रश्नमा उनले डोटेली भाषाका डिजे गीतमा र्याप हानेको बताए।
अग्रज स्रष्टाले देउडामा र्याप भित्रिएको भन्दै चिन्ता व्यक्त गरिरहँदा भट्ट भने देउडामा कहिले पनि र्याप नहुने दाबी गर्छन्। उनी आफूहरू कहिले पनि देउडामा र्याप भित्र्याउने सोचमा नरहेको बताउँछन्।
स्रोताको समयअनुसार ‘टेस्ट’ फरक हुँदै जाने भएकाले आफूले नयाँ टेस्टमात्र दिन खोजेको उनले बताए। मान्छे समयअनुसार चल्न नसके त्यसको कुनै महत्व नहुने उनको बुझाइ छ।
आफूहरूले गाएका गीतले केही समयमात्रै बजार पिट्ने कुरा भने उनी स्वीकार्छन्।
‘हो लोकलयमा गायका गीतहरू लामो समयसम्म टिक्छन्। हामीले गाएका गीतले स्रोतालाई केही समय राम्रो मनोरञ्जन प्रदान गर्छ,’ उनी भन्छन्।
उनी देउडामा र्याप भित्र्याएको भन्दै गलत रूपमा नबुझ्नसमेत आग्रह गर्छन्। उनले गीतको फ्युजन गरेर आफूहरूले डोटेली भाषालाई देशभर नै चिनाउने गरेको दाबी गरे।