नेकपा सचिवालय बैठक ३ बजे, राजीनामा माग्ने पक्ष लचिलो बनेको हो?

नेकपा सचिवालय बैठक ३ बजे, राजीनामा माग्ने पक्ष लचिलो बनेको हो?

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा ३ बजे बस्दैछ। 

स्थायी समिति बैठक पटक-पटक सरिरहेका बेला पार्टीमा उत्पन्न समस्या र प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय पेचिलो बनेको छ। 

स्थायी समितिमा ओलीलाई राजीनामा दिन दबाब छ। बहुसंख्यक नेताहरूले राजीनामा मागेपछि प्रधानमन्त्री ओली अफ्ठेरोमा छन्। यसैबारे छलफल गर्ने भनी दुई अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच पटक-पटक संवाद भए पनि सहमति नजुटेपछि सचिवालय बैठक बोलाइएको हो। 

बिहीबार दुई अध्यक्षबीच सचिवालय डाक्ने सहमति भएको थियो। 

नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन्। ६ सदस्यहरू राजीनामा पक्षमा र ओलीसहित तीन जना राजीनामा दिनु हुन्न भन्ने पक्षमा छन्। 

सचिवालयमा दुवै पक्षले सहमति खोज्न अधिकतम् प्रयास गर्ने महासचिव विष्णु पौडेलले बताए। ‘सचिवालयमा सहमति खोजौं भनेर स्थायी समिति सारिएको हो, सकेसम्म सहमतिको प्रयास हुने छ,’ पौडेलले भने। 

सचिवालयमा पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीको राजीनामा पक्षमा छन्। 
ओलीसहित ईश्वर पोखरेल र विष्णु पौडेल राजीनामा विपक्षमा छन्।

सचिवालय सदस्य झलनाथ खनालले अहिलेका चालू एजेन्डामा सचिवालयमा छलफल हुने बताए। ‘अहिलेका सबै चालू एजेन्डामा छलफल हुन्छ, पार्टीलाई यो भन्दा समृद्ध कसरी बनाउने विषयमा छलफल हुन्छ,’ उनले भने। 

खनालले आवश्यक परे सहमति गरेर अघि बढ्न पनि सकिने बताए। 

ओली दुवै पदबाट राजीनामा दिन तयार छैनन्। राजीनामा गर्न बाध्य पारिए पार्टी फुटाएर कदम चाल्ने ओलीको धम्कीले नेकपामा तरंग ल्याएको छ। पार्टी फुटको स्थितिमा जाने पक्षमा भने नेताहरू छैनन्।


Leave a Reply

Your email address will not be published.