बाढीबाट विस्थापित तारा शेर्माले पाउने भए घर

बाढीबाट विस्थापित तारा शेर्माले पाउने भए घर

शिवसताक्षी नगरले जग्गा दिने भएपछि मेची अभियानले कनकाई नदीको बाढीबाट विस्थापित तारा शेर्माको परिवारलाई पक्की घर बनाइदिने भएको छ। 

तारा शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार बाहिरिएपछि शिवसताक्षी नगरले जग्गा दिने भएको हो।

शिवसताक्षी नगरको वडा ११ स्थित बच्चाबरमा निर्माण सम्पन्न जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा शेर्माको पनि घर निर्माण हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए।

प्रमुख शेर्माले भने, ‘मेची अभियानसँग सहकार्य गरेर कनकाई नदीको बाढीबाट विस्थापित तारा शेर्मालाई पक्की घरमा भित्र्याउने योजना छ।’
जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भइसकेका छन्। तारा शेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले घर बनाउने पक्का भएपछि त्यहाँ १३ वटा घर हुनेछ।

निर्माण सम्पन्न घर करिब ५ धुरमा बनेका छन्। तारा शेर्माले पनि त्यति नै भूमि पाउने नगर प्रमुख शेर्माले बताए। उनलाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले बताए। 

तारा शेर्माका ३ छोराछोरी छन्। ७ वर्षीय छोरी समृद्धि, ६ वर्षीय दिप्रती र अढाइ वर्षका छोरा सन्दीपको माध्यमिक तहसम्मको पढाइको चाँजोपाँजो मिलेको छ।

शिवसताक्षी नगरपालिका वडा २ का अध्यक्ष रहेका नगरका सचेतक कुलबहादुर बस्नेतले उनीहरूको अभिभावकत्व लिने घोषणा गरेका छन्।

उनीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्री र विद्यालय पोसाक पनि अध्यक्ष बस्नेतले उपलब्ध गराउने बताए। उनले भने, गरिबीकै कारण पढ्न पाउने अधिकार कसैको खोसिनु हुँदैन। म उनीहरूको अधिकार रक्षा गर्छु र माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च उपलव्ध गराउँछु।’

पीडित परिवारको जीविका चलाउन प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उनलाई रोजगारी दिन सकिने नगर प्रमुख शेर्माले बताए। वडाध्यक्ष बस्नेतले पीडितको पुनस्र्थापना र रोजगार स्थानीय सरकारको जिम्मा भएको बताउँदै उनले भने, ‘व्यावसायिक रूपमा पशुपंक्षी पालेर पनि शेर्माले आफ्नो परिवारको गुजारा चलाउनु हुनेछ।’

मेची अभियानका संयोजकसहितको टोलीले तारा शेर्माका परिवारका लागि निर्माण हुने जग्गा क्षेत्रको स्थलगत अवलोकन गरेको छ। टोलीले जग्गा क्षेत्र पायक पर्ने र आधारभूत आवश्यकतायुक्त क्षेत्र भएकाले यसै सातादेखि घर निर्माण हुने संयोजक डालमियाले बताए।


Leave a Reply

Your email address will not be published.