बाँकेमा ९८ प्रहरीले दिए एकैपटक रगत

बाँकेमा ९८ प्रहरीले दिए एकैपटक रगत

मानवीय सेवामा अग्रसर हुँदै बाँकेका सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेले संयुक्त रूपमा शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम गरेका छन्।

नेपालगन्जको गणेशमानचोकस्थित प्रहरीको लागूऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरीका सिनियर र जुनियर अधिकृतलगायत जवानको सहभागिता थियो।

कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी १ सय १ जनाले रक्तदान गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले प्रहरी हरदम जनताको सुरक्षा र सेवामै तल्लिन रहेको बताए।

उनले प्रहरी जनताको सेवक भएका कारण दुर्घटना, सुत्केरी र अन्य कारणबाट हुने बिरामीको जीवन बचाउने उद्देश्यले कोरोना कहरबीचमा रगतको अभाव हुन नदिन प्रहरीले रक्तदान कार्यक्रम गरेको स्पष्ट पारे।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, भैरवप्रसाद गणका प्रमुख कर्णेल नकुल थापा, विभिन्न प्रहरी इकाईका प्रमुख र सामुदायिक प्रहरी सेवा केन्द्र पदाधिकारी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published.