आजकाे स्थायी कमिटीमा महाधिवेशन प्रस्ताव पेस होला ?

आजकाे स्थायी कमिटीमा महाधिवेशन प्रस्ताव पेस होला ?

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव राखेपछि पार्टीभित्रको विवाद नयाँ मोडमा पुगेको छ।

लगातार पाँच पटक स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आइतबार अपराह्न ३ बजेका लागि बोलाइएको छ। 

स्थायी कमिटीको अघिल्लो दिन बसेको सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा महाधिवेशन गर्ने मौखिक प्रस्ताव राखेपछि ‘राजीनामा विवादले नयाँ मोड लिने’ ठानिएको छ। 

नेकपा स्थायी कमिटीले दुबै पदबाट ओलीकाे राजनीनामा मागेपछि उनी पटकपटक बैठक टार्दै आएका थिए। र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग पटकपटक छलफल गरे।

शनिबारको सचिवालय बैठकमा ओलीले राखेको प्रस्तावमा प्रचण्डले पनि सहमति जनाउकाे संकेत दिएका छन्।

यद्यपि, प्रचण्ड पुत्री समेत रहेकी स्वकीय सचिव गंगा दाहालले यसबारे छलफल जारी नै रहेको बताएकी छन्। सचिवालय बैठक अघि दुबै अध्यक्षबीच छलफल भएको थियो।

दाहालले फेसबुकमा लेखेकी छन्, ‘पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरू (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन।’

नयाँ प्रस्तावसँगै अब ओलीले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनु नपर्ने परिस्थिति बनेको आकलन गरिएको छ।

सचिवालय बैठकमा ओलीले राखेको प्रस्ताव आइतबार अपराह्न बालुवाटारमा बस्ने स्थायी कमिटीमा पेश हुने सम्भावना छ। 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि समग्र पार्टीका समस्या तथा एजेन्डाहरूबारे छलफल भएको र आइतबारको स्थायी समितिबाटै टुंगो लाग्ने बताइसकेका छन्। 

ओलीको महाधिवेशन प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको संकेत देखा परेपनि वरिष्ठ नेता माधवकुमार नेपाल र  झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सकारात्मक देखिँदैनन्।  

कोरोना कहर र चाडपर्व पर्ने भएकाले मंसिरमा महाधिवेशन सम्भव नहुने ती नेताहरुको भनाइ छ। नेकपा महाधिवेशन यसअघि आगामी चैतका लागि तय भएको थियो। 


Leave a Reply

Your email address will not be published.