सवारीको कागज कीर्ते गर्ने यातायात कार्यालयका सहयोगीसहित पाँच पक्राउ
सवारी साधनको नक्कली कागजपत्र बनाएको अभियोगमा यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरका कार्यालय सहयोगीसहित ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
चार जनाको मिलेमतोमा सरकारी छाप किर्ते गरी नक्कली व्लुबुक बनाइरहेको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर–४ निवासी ४८ बर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर–६का २१ बर्षीय अव्दुल हफिस सिद्धिकी, वडा नं. ६ कै ३७ बर्षीय जीवन पोख्रेल र सोही ठाउँका ३२ बर्षीय बिष्णु घिमिरे र वडा नं. ५ का चक्रबहादुर वलीलाई पक्राउ गरि अनुसन्धान भैरहेको दाङका जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए।
प्रहरीले जीवन पोख्रेल, चक्रबहादुर वली र बिष्णु घिमिरेलाई प्रहरीले प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्थाप कार्यालय दाङ लेखेको छाप १ थान, शाखा अधिकृतको छाप १ थानसहित एक लाख रुपैया नगद पक्राउ गरेको हो।
उनीहरुको मोटरसाइकल चोरी गर्ने र मोर्डिफाइ गर्ने गिरोहसँग संलग्नता भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान भैरहेको प्रहरी प्रमुख चन्दले जानकारी दिएका छन्।