‘नेकपा महाधिवेशनको प्रस्ताव स्टन्टबाजी मात्रै’

‘नेकपा महाधिवेशनको प्रस्ताव स्टन्टबाजी मात्रै’

नेपाल कम्युनिष्ट पार्टीभित्र चर्किरहेको द्वन्द्व समाधानका निम्ति शीघ्र महाधिवेशन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्तावलाई असन्तुष्ट नेताहरूले ‘संकट टार्ने बहाना’का रुपमा हेरेका छन्।  

स्थायी समिति सदस्य लिलामणि पोखरेलले तीन महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन हुनै नसक्ने तर्क गरे। ‘पार्टी एकीकरणकाे टुंगेको छैन, स्थानीय तहदेखि सम्मेलन गरेर आउनुपर्ने हुन्छ, साउन-भदौ बर्खामासमा कामकाज हुनसक्दैन,’ उनले भने,‘अनि कुन हिसावले महाधिवेशन हुनसक्छ।’

‘यो प्रस्ताव वास्तविक समस्या पन्छाएर यथास्थितिमा राख्ने स्टन्टबाजी मात्रै हो,’ पोखरेलको भनाइ थियो। 

पोखरेलले पार्टीमा आफू कसैको समर्थक वा विरोधी नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओली पार्टी संयन्त्रसँग संवादमै आउन नचाहेर समस्या जटिल बन्दै गएको बताए। 

‘बैठकमा आएर कुरा गरे पो दुई पद वा एक पद, कहाँ कसरी के गर्ने भन्ने कुरा आउँछ। नआएपछि के गर्ने?,' उनले थपे। 

पोखरेलका अनुसार पद र सरकारको भागवण्डाभन्दा पहिले सांगठनिक विधि, विधान, कामकारवाही, नीति तथा कार्यक्रम, सामूहिकता, सहअस्तित्वजस्ता महत्वपूर्ण विषयलाई टुंग्याइनुपर्छ।

अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बैठकमा खुला छलफल गरेपछि मात्रै महाधिवेशन एउटा समाधान हुनसक्ने बताए। 

‘तर ३ महिनामै चाहिं कुनै हालतमा महाधिवेशन हुन सक्दैन,’ उनले भने। 

हिजोको सचिवालय बैठकमा ओलीले महाधिवेशन छिटोभन्दा छिटो गरी निकास दिने प्रस्ताव राख्दा प्रचण्डले तत्काल सहमति जनाएका थिए। त्योभन्दा पहिला नै ओली र प्रचण्डबीच छुट्टै छलफल भई सहमति भएको देखिएपछि माधव नेपाललगायतले त्यसमा आपत्ति जनाएका थिए। 

महाधिवेशनको प्रस्तावमा प्रचण्डको क्याम्पभित्रै समेत पूर्ण सहमति बनिनहाल्ने स्थिति भएकाले आइतबार अपराह्नका लागि निर्धारित स्थायी समिति बैठक असार ६ गतेका लागि स्थगित गरिएको छ। 


Leave a Reply

Your email address will not be published.