क्याबिन रेस्टुरेन्ट जाने पैसा जुटाउन आफ्नै भान्जाको अपहरण, हत्यापछि दुई लाख फिरौती

क्याबिन रेस्टुरेन्ट जाने पैसा जुटाउन आफ्नै भान्जाको अपहरण, हत्यापछि दुई लाख फिरौती

भारत बिहार राज्य सीतामणि मुझफपुर घर भएका वासुदेव गुप्ता नेपाल आएको चार-पाँच साल भएको थियो।

वासुदेव छोरासाथ काठमाडौं-२२ खिचापोखरीमा भाडामा बस्थे। ११ वर्षीय छोरा रोहित गुप्तालाई त्यहीँको राई स्कुल जोरपाटीमा पढाइरहेका थिए।

रोहित राई स्कुलमा कक्षा ७ मा पढ्थे। राई त्यतिबेलाको निकै चर्चित स्कुल थियो।  

वासुदेव सडकपेटीमा किराना सामान बेच्थे। कहिले बसपार्क, कहिले न्यूरोड, कहिले सुन्धारा।

आफू दु:ख गरेर पनि वासुदेवले छोरालाई राम्रो स्कुलमा पढाएका रहेछन्।  

सालो राजेशकुमार गुप्ता उनीसँगै नेपाल आएका थिए। उनी बेरोजगार थिए।

वासुदेवलाई खासै काम सघाउँदैनथे। धादिङका विष्णु सुनारसँग पार्टनरसिप गराएर वासुदेवले नै विराटनगरमा कपडा पसल खोलिदिए।

तर, राजेश व्यापारमा जमेनन्। एक-डेढ सालमै व्यापार डुबेपछि राजेश र विष्णु दुवै काठमाडौं आए।

राजेश फेरि भिनाजूसँगै बस्न थाले। 

जब राजेश आएर बस्न थाले, वासुदेवको दिन त्यहीँबाट बिग्रन थाल्यो। 

राजेशले न्यूरोडमा छुट्टै कोठा खोजेर बस्ने गरेको भने कसैलाई थाहा थिएन। उनी त्यहाँ बसेर आपराधिक गतिविधिका योजना बनाउने गर्दा रहेछन्।

सडकपेटीको व्यापार चलाउँदै छोरालाई पढाइरहेका वासुदेवलाई २०६४ साल असोज २४ गते अचानक विपत्ति आइलाग्यो- त्यसका खलपात्र उनै राजेश हुन् भन्ने वासुदेवले भेउ नै पाएनन् ।

साँझ ५ बजेतिर छोरा रोहित बेपत्ता भए।

वासुदेवलाई सालो राजेश आफैंले खबर पुर्‍याएका थिए- भान्जो अपहरणमा परेको छ, अढाइ लाख फिरौती मागेको छ।

सालोले यसो भन्दा वासुदेव छक्क परे। उनीसँग छिनमै त्यति पैसा कहाँ थियो र!

वासुदेव छोरो मुक्त गराउन पैसाको बन्दोबस्तमा जुटे।

फिरौतीको चाँजो मिलेपछि राजेश चाहिँ अपहरणमा राखेको आफ्नै भान्जोको हत्या गर्न लागेको प्रहरी अनुसन्धान देखाउँछ। त्यो अपहरणका योजनाकार राजेश नै थिए। न्यूरोडमा भान्जोलाई बन्धक बनाएका थिए।

फिरौतीको बार्गेनिङ टुंगियो- वासुदेव दुई लाख रुपैयाँ दिन तयार भए।

यता, भान्जोलाई सकुशल मुक्त गर्दा पोल खुल्ने डरले विष्णु र राजेश मिलेर हत्या गरे।

प्रहरीका अनुसार विष्णुले नाइलनको डोरीले घाँटीमा बेरे। राजेशले मुख थुने।

मृत्यु भएपछि रोहितको शव बोरामा पोको पारेर कमलादी गणेशस्थान नजिकै फालिदिए।

छोराको शव फेला परेपछि वासुदेव इन्तु न चिन्तु भएर प्रहरीमा धाउन थाले। राजेशसमेत सान्त्वना दिँदै वासुदेवलाई प्रहरीसम्म पुर्‍याउने काम गर्थे।

तर, कात्तिकमा छठ मनाउन भनेर दुवै जना भारत गएकोमा राजेश बेपत्ता भए। प्रहरीले राजेशलाई शंकाको नजरमा राखेको भने थियो। तर, उनले चलाखी गरेर भिनाजूसमेतलाई लिएर गएका थिए।

‘उनीहरू गाडी चढेर हिँडे, प्रहरीको टोली प्लेन चढेर विराटनगर गयो, तर प्रहरी जाँदा उनीहरू सीमापार भइसकेका थिए,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले भने, ‘यसरी भारत छिरेका राजेश कता के भए लामो समयदेखि पत्ता लाग्न सकेको थिएन।’

महाशाखाको टोलीले तिनै राजेशलाई घटना भएको तेह्र वर्षपछि शनिबार सर्लाहीबाट पक्राउ गरेको छ। थापाका अनुसार सर्लाहीको मलंगवा आइपुगेका राजेशलाई महाशाखाको टोलीले पक्राउ गरेको हो।

एसएसपी थापाका अनुसार जघन्य अपराधका अन्य २० फाइल खोल्ने क्रममा राजेशलाई खोजीको प्राथमिकतामा राखिएको थियो।

सुनार भने २०६४ साल माघ १२ गते नै पक्राउ परिसकेका थिए। उनी जन्मकैद सजाय भोगिरहेका छन्।

तर, राजेशले चाहिँ प्रहरी छल्दै हत्याको पोल नखुलोस् भनी भिनाजूलाई लिएर भारत गए। उनलाई अपराध महाशाखाले यतिका वर्ष खोज्दा फेला पार्न सकेको थिएन।

राजेश शनिबार पक्राउसँगै रोहित हत्यारा १३ वर्षपछि कानुनी दायरामा आएका छन्।

मोजमस्ती गर्न पैसा

महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार राजेश मोजमस्ती गर्ने स्वभावका थिए।

सँगै ल्याएर राखे पनि बानी नसुध्रिएपछि वासुदेवले पार्टनर समेत खोजेर विराटनगरमा व्यापार गर्न पठाए।

तर, एक-डेढ वर्षमै राजेशले पसल डुबाए। पसल डुबेपछि काठमाडौं आए, वासुदेवसँगै बस्ने गर्थे।

तर, राजेश मोजमस्तीका लागि क्याबिन रेस्टुरेन्ट धाउने, रक्सी पिउने आदतमा फस्दै गएका थिए। 

यता न्यूरोडमा साथीसँग मिलेर कोठा खोजेका उनी कोठामा पनि र भिनाजूसँग पनि बराबर बस्दै गर्थे। यदाकदा पैसा मागिरहन्थे। पैसा जुटाउनका लागि त्यस समयमा उनले के-के अपराध गरे त्यो खुलेको छैन।

उनले त्यही मोजमस्तीका लागि आफ्नै भान्जालाई अपहरण गरेको निष्कर्ष प्रहरी अनुसन्धानमा छ।

‘क्याबिन रेस्टुरेन्ट धाउन पैसा अभाव हुन थालेपछि राजेशले आफ्नै भान्जाको अपहरण गरेको हाम्रो अनुसन्धानले देखाएको छ,’ कार्की भन्छन्, ‘भान्जाले मामाले अपहरण गरेको हो भन्ने पोल खुलाउने डरले हत्या गरेको देखिन्छ।’

कार्कीका अनुसार अपहरण गरेलगत्तै राजेशले भान्जाको हत्या गरेका थिए। राजेशबाट अमानवीय व्यवहार भएको थाहा पाएपछि रोहित चिच्याउन थालेका थिए।

त्यो चिच्याहटबाट सिर्जना हुने परिस्थितिले आफूलाई अफ्ठेरो पर्ने डरले राजेशले हत्या गरे। हत्या गरेपछि अपहरणमुक्त गर्न पैसाको ‘बार्गेनिङ’ गरे।

‘भिनाजूलाई अपहरणकारीले मलाई भनेको छ भनी विश्वासमा पारेर फिरौती बुझेको देखिन्छ,’ कार्कीले भने।

अनुसन्धान अनुसार फिरौती दुई लाख रुपैयाँ आफैं बुझेर राजेश थानकोट त्रिभुवन पार्क गएका थिए। त्यहाँ अपरिचित मान्छे ट्याक्सीमा आएर फिरौती रकम लगेको भनी राजेशले वासुदेवलाई विश्वास दिलाएका थिए।


Leave a Reply

Your email address will not be published.