महोत्तरीको पिपरा गाउँपालिकामा जसपा कार्यकर्ता र प्रहरीबीच झडप

महोत्तरीको पिपरा गाउँपालिकामा जसपा कार्यकर्ता र प्रहरीबीच झडप

महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र प्रहरीबीच झडप भएको छ। नगर प्रमुखले भ्रष्टाचार गरेको भन्दै गाउँपालिका घेराउ गर्न पुगेका जसपा कार्यकर्तालाई प्रहरीले रोकेपछि झडप भएको हो।

सात दिनको अल्टिमेटम दिँदै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका कार्यालयले कुनै सुनवाइ नगरेको भन्दै जसपा कार्यकर्ताहरू प्रदर्शनमा उतरेका छन्।

आफूहरूले बुझाएको ज्ञापन पत्रबारे गाउँपालिकाले सुनवाइ गरेपछि बाध्य भएर आन्दोलनमा उतिरनुपरेको जसपाका पिपरा गाउँपालिका अध्यक्ष विनित पाण्डेयले बताएका छन्।

विभिन्न माग राख्दै गाउँपालिकालाई आफूहरूले बुझाएको ज्ञापन पत्रबारे जानकारी लिनजाँदा प्रहरीले गाउँपालिका कार्यालयभित्र प्रवेश नदिएपछि झडप भएको पाण्डेयले बताए। 

नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष विक्रम चौधरीले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाले आरोप लगाएको छ। 

जसपाले डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गरेको छ। 

यसैगरी जाडो महिनामा गरिब तथा विपन्नलाई वितरण गरिएको न्यानो लुगा खरिदमा समेत भ्रष्टाचार भएको उसको दाबी छ। जाडो महिनामा स्वेटर, कम्बललगायताका लुगा वितरण गर्ने निर्णयका साथै प्रत्येक विद्यालयमा रहेका विद्यार्थीहरूको विवरण र खर्च भर्पाइ सार्वजनिक गर्न जसपाले माग गरेको छ।

पालिकामातहतका सम्पूर्ण पोखरीको ठेक्का प्रक्रियाका कागजात, ठेक्का रकमका साथै विगतका ठेकेदारहरूबाट असुल गरिएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने जसपाको माग छ।


Leave a Reply

Your email address will not be published.