पुल निर्माण अलपत्र छाड्ने ठेकेदारलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

पुल निर्माण अलपत्र छाड्ने ठेकेदारलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले देशभरका पुलसहित भौतिक निर्माणका काम निर्धारित अवधिमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।

काठमाडौं उपत्यकाका बागमती, टेकु तिनकुने लगायतका पुलको निर्माण कार्य अलपत्र परेको विषयमा समितिको आइतबार बसेको बैठकले उपत्यका लगायत देशभर रणनीतिक एवं रुग्ण पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रक्रिया थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

टेकुस्थित बिष्णुमति पुलमा प्राविधिक एवं गुणस्तरमा कमजोर भएको र निर्माणाधीन अवस्थामा रहेका तीनकुने बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको रौतहटको पुल, मध्यपहाडी लाेकमार्गका पुल निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार र सम्बन्धित निकायलाई कारबाही गरी समयसीमाभित्र निर्माण सम्पन्न गर्न कार्ययोजनासहित प्रक्रिया आरम्भ गर्न समितिले निर्देशन दिएको छ।

समितिले दक्ष प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारसँग सम्वद्ध आयोजनाको काम समयमै गुणस्तरीय रुपमा सम्पन्न हुन नसकेको, कामको अनुगमन निरीक्षणमा बाधा पुगेको, प्राविधिक जनशक्तिको अत्तिरिक्त कामको चापले विकास निर्माणको काममा बाधा पुगेको ठहर समेत गरेको छ।

मन्त्रालयको कामकाजमा सहज वातावरण सिर्जना गर्न जनशक्तिको व्यवस्था गर्न समितिले अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयलाई समेत निर्देशन दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले दक्षता नभएका निर्माण कम्पनीले ठेक्का पाउदा विकास निर्माणमा काम अलपत्र परेको बताए।

‘विकासको गतिसँगै देशभर पुलको माग पनि बढ्दै गइरहेको छ, एक वर्षभित्र सम्पन्न हुने आयोजनामा ढिलाइ नगरी  समयमै  सम्पन्न गर्ने गरी काम गर्छौ,’ मन्त्री नेम्वाङले भने, ‘कर्मचारीको अभाव तथा आवश्यकताको पहिचान गर्न नसक्दा काममा ढिलाइ भएको हो, मन्त्रालय जति सक्दो छिटो काममा लागि प्रयासरत छ।’

अन्य वर्षभन्दा यस वर्षको विकास निर्माणका कामले तीव्रता पाउने भन्दै उनले यो वर्ष असारे विकासलाई प्राथमिकता नदिएको बताए।
आर्थिक वर्ष ०७६/०७७ मा ३ सयमध्ये एक सय निर्माण सम्पन्न भएको सरकारी तथ्यांक छ।
 


Leave a Reply

Your email address will not be published.