अब होटेलका मजदुरले महिनाको बढीमा १० हजार तलब पाउने

अब होटेलका मजदुरले महिनाको बढीमा १० हजार तलब पाउने

कोरोनाका कारण होटल व्यवसाय लामो समयदेखि बन्द रहेकाले त्यहाँ कार्यरत कर्मचारीलाई अब बढीमा १० हजारसम्म तलब दिने सहमति भएको छ।

होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल मुख्य तीन वटा केन्द्रीय ट्रेड युनियन संघकाबीचमा आज यस्तो सहमति भएको हो। 

श्रम ऐन कानुन बमोजिम सेवा सुविधा उपलब्ध गराउन कठिन भएकाले श्रमिक तथा कर्मचारीको व्यवस्थापनका लागि डिसेम्बर ३१ सम्म लागु हुने गरी होटेलको अवस्था अनुसार बढीमा १० हजार र कममा ४ हजार ३ सय रकम प्रदान गर्ने सहमति भएको हो।

कोरोना कहरले होटेल पूर्ण रुपमा बन्द रहेकाले होटल संघ नेपालका सदस्य होटलहरूको आम्दानी शुन्य हुन गएकाले ‘बाँचौं र बचाऔं’ को नीति अनुरुप कर्मचारीको तलब कटौति गरिएको जनाइएको छ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणा, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका तर्फबाट अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजुर संघको तर्फबाट अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक संघका तर्फबाट अध्यक्ष खेमराज खड्कालगायतका सरोकार वाला निकायले उक्त निर्णय गरेका हुन्।

यो समहति अप्रिल १३ देखि डिसेम्बर ३१ सम्म लागू हुने बताइएको छ। सहमति भए अनुसार डिलक्स पाँचतारे (दुईसयभन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १० हजार रकम उपलब्ध गराइनेछ।

दुई सय कोठाभन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मासिक ९ हजार रकम उपलब्ध गराइने उल्लेख छ।
सय कोठाभन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीलाई मासिक ८ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइनेछ। 

‘सय कोठाभन्दा कम भएका चार तारे होटल  तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक ८ हजार पाउने छन्’, सहमति पत्रमा भनिएको छ, ‘तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक ५ पाँच हजार पाउने छन्।’

दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले मासिक ४ हजार ३ सय रकम पाउने छन्। यस्तै एक तारे र पर्यटक स्तरीय होटल तथा रिर्सोटमा कार्यरत कर्मचारीले भने आपसी समझदारीमा तलब पाउने उल्लेख गरिएको छ। 

यस्ता छन् सहमतिका बुँदा

१.  (क) यो सम्झौताको अप्रिल १३, २०२० देखि ३१ डिसेम्वर, २०२० सम्म लागू हुनेछ।

ख) डिलक्स पाँचतारे (दुईसय भन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १० हजार रकम उपलब्ध गराइनेछ।

(ग) दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक‌ ९ हजार रकम उपलब्ध गराइनेछ।

(घ) सय कोठा भन्दा बढि भएको चार तारे होटल  तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइनेछ।

(ङ) सय कोठा भन्दा कम भएको चार तारे होटल  तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार उपलब्ध गराइनेछ।

(च) तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ५ हजार उपलब्ध गराइनेछ।

(छ) दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ४ हजार ३ सय उपलब्ध गराइनेछ।

(ज) एक तारे र पर्यटक स्तरीयको होटल तथा रिर्सोटहरूले आपसी समझदारीमा रकम उपलब्ध गराइनेछ।

(झ) यो सम्झौता अवधिभरी माथी उल्लेखित रकम बाहेक अन्य सुविधा उपलब्ध गराइने छैन्। 

(ञ) होटल सञ्चालन गर्नको लागि आवश्यकता बमोजिम व्यवस्थापनले चक्रीय प्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक, कर्मचारीहरूलाई साबिक अनुसार पारिश्रमिक भुक्तान गर्नुपर्नेछ। काममा नबोलाइएको⁄नलगाएको श्रमिक, कर्मचारीहरूलाई यसै सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम भुक्तान गनुपर्नेछ। प्रतिष्ठान व्यवस्थापन पक्षले काममा बोलाएको अवस्थामा उपस्थित भई आफ्नो कार्य गर्नु श्रमिक, कर्मचारीहरूको कर्तव्य हुनेछ।   

(ट) बन्दाबन्दीको अवस्था रहेसम्म प्रत्येक महिना २ दिन र बन्दाबन्दी खुलेपछि प्रत्येक ३० दिन काममा नवोलाएमा ४ दिनका दरले यो सम्झौताको अवधिभरी हुन आउने सञ्चित बिदाबाट कट्टा गरिनेछ। 

२. यो सम्झौतामा उल्लिखित शर्त र सहमतीहरू ३१ डिसेम्बर, २०२० सम्म लागू हुनेछ र त्यस पछिको अवस्थालाई मूल्यांकन गरी आपसी समझदारीमा टुंगो लगाइनेछ। 

३. यो सम्झौताको कार्यान्वयन र परिपालन गराउने कार्य होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल केन्द्रीय स्तरका सम्झौताकर्ता ट्रेड युनियन संघहरू बीच गठन भएको अधिकार सम्पन्न संयुक्त कार्यदलले गर्नेछ।

४. सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुदाँ बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ। 

५. यदि कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सम्झौता अवधिभर रकम प्राप्त गरी  सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सुचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सम्झौता अनुसार निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शिर्षकको रकमबाट कट्टी गरिनेछ। 

६. यो सम्झौतामा उल्लिखित शर्तहरू दुवैपक्षको लागी बाध्यकारी हुनेछ। यो सम्झौतामा उल्लेख गरिए बाहेक अन्य विषयहरूमा प्रतिष्ठानस्तरका क्रियाशिल  यूनियनहरूसँग बसी छलफल गर्न सकिनेछ। साथै यो सम्झौता हुनु भन्दा अगावै प्रतिष्ठान स्तरको युनियनसँग गरिएको सम्झौता तथा सहमति कायम रहनेछ।


Leave a Reply

Your email address will not be published.