गुल्मीको रुरुक्षेत्र गाउँ पालिकाले स्कुल खोल्ने

गुल्मीको रुरुक्षेत्र गाउँ पालिकाले स्कुल खोल्ने

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले साउन ११ गतेदेखि विद्यालय खोल्ने बताएको छ। सामाजिक दुरी कायम गरी विद्यालयमा पठन पाठन गरिने गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमले जानकारी दिए।

आइतबार गाउँपालिकामा भएको विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधीहरूको बैठकले यस्तो निर्णय गरेको हो। अनलाइन शिक्षामा पहुँच नभएको र अन्य बैकल्पिक माध्यम पनि प्रभावकारी नदेखिएपछि सामाजिक दुरी कायम गरी जोर विजोर रोलनम्बरका आधारमा विद्यालय खोलेरै पठन पाठनमा सहजीकरण गर्ने निर्णय भएको प्रमुख गौतमको भनाइ छ।

त्यसका लागि सोमबार विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन सन्टर हटाईने तयारी गरिएको छ। त्यसरी हटाइएका क्वारेन्टाइनहरू विद्यालय समायोजन भएका दुई विद्यालय मनकामना प्रावि, चिउरेक र जनज्योती प्रावि जोर्तेमा सारिने उनले बताए। आइसोलेसन सेन्टर भने रिडीमा रहेको संस्कृत माविको छात्राहरूका लागि बनाइएको तर खाली रहेको छात्राबासलाई प्रयोग गर्ने गाउँपालिकाको तयारी छ।

आउने ६ र ७ गते क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग भएका विद्यालयहरूलाई सेनिटाइज गर्ने गाउँपालिककाको वडा नम्बर २ का वडाअध्यक्ष घनश्याम अर्यालले बताए। सरकारले भनेकै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई आधार मानेर बालवालिकाको सिकाइमा सहजीकरण गरिने वडाअध्यक्ष अर्यालको भनाइ छ। 

उनका अनुसार विद्यालय प्रवेश गर्दा साबुन पानीले हात धुने, कक्षामा दुरी कायम गर्ने र विद्यालय आउने पालोलाई रोलनम्बरमा जोर बिजोर प्रणाली लागु गर्नमा कडाइ गरिनेछ। तर १५/२० जना विद्यार्थी हुने विद्यालयमा भने जोर विजोरको रोलनम्बर लागु हुने छैन्।

सरकारले गत जेष्ठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरी असार १ गते देखि बालबालिकालाई सहजीकरण गर्न भनिसकेको छ। उक्त निर्देशिकामा स्थानीय तह र विद्यालयको पहलमा बढीमा आठ देखि दश जनासम्मको समूह रहने गरी स्थानीय रूपमा सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दूरी कायम हुने गरी बसाइ व्यवस्था मिलाई सिक्ने सिकाउने व्यवस्था गर्ने उल्लेख छ। 

निर्देशिकामा त्यस्ता सिकाइ केन्द्रहरू समुदाय र विद्यालयमा संचालन गर्न सकिने र त्यसको व्यवस्थापन विद्यालय र स्थानीय तहले गर्ने भनेको छ।

रुरु क्षेत्र गाउँपालिकामा १४ वटा विद्यालयहरू क्वारेन्टाइन र आइसोलेसनका लागि प्रयोगमा ल्याइएका थिए। अहिले पनि ति क्वारेन्टाइनमा ४३ जना व्यक्ति रहेका छन्। 

पालिकामा ४० जनामा कोरोना पोजेटिभ देखिएपनि ति सबै निको भइ घर फर्किइसकेका छन्। गाउँपालिकाका अनुसार पालिकाभित्र सामुदायिक ४३ र संस्थागत २ गरी ४५ वटा विद्यालय छन्। 


Leave a Reply

Your email address will not be published.