भोलिदेखि सुदूरपश्चिममा आंशिक रुपमा गाडी चल्ने

भोलिदेखि सुदूरपश्चिममा आंशिक रुपमा गाडी चल्ने

भोलिदेखी कैलालीलगायत सुदूरपश्चिमका ९ वटै जिल्लामा सार्वजनिक यातायात महासंघसँग आवद्ध सार्वजनिक बस सञ्चालन हुने भएका छन्। तर, नेपाल यातायात राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक बस भने सञ्चालन हुने छैनन्।

आइतबार यातायात व्यवसायी र सरकारबीच भएको वार्तापछि सार्वजनिक यातायात केन्द्रीय महासंघले जिल्लाका सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसयी महासंघले व्यवसायीलाई सरकारले थप क्षतिपूर्ति दिनुपर्ने माग राख्दै तत्काल सवारी सञ्चालन नगर्ने जनाएको छ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ अन्तर्गत सुदूरपश्चिम प्रदेश संयोजक डिबि खलौलाले संघमा आवद्ध सुदूरपश्चिमका सबै १२ वटा यातायात प्रालिलाई सवारी चलाउन पत्र पठाएको बताए। सरकारसँग भएको छलफलपछि यातायात व्यवसायीले तिर्ने बैंक ब्याज तथा किस्ता ६ महिनापछि तिर्न मिल्ने, यातायात क्षत्रमा काम गर्ने व्यवसायीको कोरोना वीमा गरिदिने लगायतका सम्झौता भएका कारण आफूहरू भोलीदेखी सडकमा बस गुडाउन तयार रहेको प्रदेश अध्यक्ष खलौलाले बताए।

‘सार्वजनिक यातायात केन्द्रीय महासंघसँग सुदूरपश्चिमका १२ वटा यातायात प्रालि आवद्ध छन्,’ उनले भने, ‘हामीले सबै प्रालिलाई भोलिदेखी सडकमा बस गुडाउन पत्राचार गरेका छौं।’ सुदूरपश्चिममा सार्वजनिक यातायात महासंघसँग अछाममा जयमालिका याातायात प्रालि, बाजुराका दुई वटा प्रालि, कञ्चनपुरको पवनदुत यातायात प्रालि, मेनेज्मेण्ट यातायात प्रालि, नमस्ते शुक्लाफाँटा यातायात प्रालि, वेलौरी यातायात प्रालि, रहेका छन्। यसैगरी कैलालीमा गुरास यातायात प्रालि, मालिका यातायात प्रालि, खप्तड मालिका यातायात प्रालि, फुलवारी यातायात प्रालि आबद्ध रहेको उनले बताए। 

यतायातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सुन्दर सुदूरपश्चिम यातायात प्रालि र रिभरसाईड यातायात प्रालिले भने सरकारसँग थप वार्ता हुन बाँकी रहेका कारण तत्काल बस नचलाउने जनाएको छ।

सुन्दर सुदूरपपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले महासंघबाट बस नचलाउने निर्णयको पत्र प्राप्त भएकाले बताए। बैंको व्याज तथा किस्ता ६ महिनापछि तिर्न मिल्ने गरी सरकारले व्यवस्था गरेपनि यात्रुको बीमा, यातायात क्षत्रमा काम गर्ने मज्दुरको स्वास्थ्य सुरक्षा लगायतका माग अझै पुरा हुन नसकेको भन्दै उनले ती माग पुरा नभएसम्म बस नचलाउने बताए।

रिभरसाईड यातायात प्रालिका अध्यक्ष धिरज शाहीले पनि महासंघबाट कुनै निर्णय नआएकाले तत्काल बस नचलाउने बताए। ‘मौद्रिक नीतिमा समेटेर मात्रै हाम्रा माग पुरा भएका छैनन्,’ उनले भने, ‘सुरक्षा वीमा लगायतको सम्झौता अझै पुरा भएको छैन, व्यवसायीले कोरोनाबाट हुने क्षतिको बीमा गर्न सक्दैन।’


Leave a Reply

Your email address will not be published.