इन्जिनियर गोइतको निधनप्रति मेलम्ची खानेपानी आयोजनाद्वारा दु:ख व्यक्त 

इन्जिनियर गोइतको निधनप्रति मेलम्ची खानेपानी आयोजनाद्वारा दु:ख व्यक्त 

सुरुङको अस्थायी बाँध फुट्ँदा ज्यान गुमाएका इन्जिनियर सतीस कुमार गोइतप्रति मेलम्ची खानेपानी आयोजना परिवारले दु:ख प्रकट गरेको छ।
 
एक विज्ञप्ति जारी गरि इन्जिनियर गोइतको मृत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। सुरक्षाका सबै उपाय अवलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षेति भएकोभन्दै दु:ख व्यक्त गरेको हो।

'आयोजनाको इतिहासमा पहिलो पटक हुनगएको यस दुखद् घटनाबाट आयोजना र आयोजनासँग सम्बन्धित परामर्शदाता तथा निर्माण व्यवसायी अत्यन्त मर्माहत भएका छौं', विज्ञप्तीमा भनिएको छ,‘यस दुखद् घडीमा मृतक तथा बेपत्ताका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछौं।’

खानेपानी आयोजनाको सुरुङ र अस्थायी बाँधको निर्माण कार्य सम्पन्न भएपश्चात गत असार २१ गतेबाट सुरुङको परीक्षण सुरु गरिएको थियो।

परीक्षणका क्रममा गत असार ३० गते मध्यान्नमा अचानक १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनोहाइड्रो कर्पोरेशनमा कार्यरत इन्जिनियर सतीस कुमार गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता भएका थिए। 

खोज तथा उद्धारको क्रममा इन्जिनियर गोइतको शव प्राप्त भए पनि चालक थापामगर अझैसम्म बेपत्ता रहेका छन्।

मृतक तथा बेपत्ताका हकवालाले पाउने बीमा लगायतका सुविधाका लागि आयोजनाले प्रकृया अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन गरिसकेको छ। 

अन्तिम संस्कार सम्पन्न भएपछि आवश्यक कागजातहरू सहित उपस्थित भई नियमअनुसार बीमाको प्रकृया अघि बढाउन सम्बन्धित परिवारमा विशेष अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published.