सिद्धार्थ बैंकको ४३ करोड घोटालामा पाँच वर्ष कैद तोकिएका सिलवाल ठिमीबाट पक्राउ

सिद्धार्थ बैंकको ४३ करोड घोटालामा पाँच वर्ष कैद तोकिएका सिलवाल ठिमीबाट पक्राउ

सिद्धार्थ बैंकको ४३ करोड रकम हिनामिना प्रकरणमा फरार रहेका सञ्चालक मधुसूदन सिलवाल पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरोले सिलवाललाई आइतबार साँझ ठिमीबाट पक्राउ गरेको हो। 

साबिक बालकोट गाविस-१, हाल सूर्यविनायक नगरपालिकाका सिलवाललाई प्रहरीले लामो समय खोजी सूचीमा राखेको थियो।

ब्युरोका प्रहरी नायब महानिरीक्षक सहकुल थापाका अनुसार उनी २०७० सालयता फरार थिए। 

बैंकिङ कसुरमा उनीमाथि दुई अलग-अलग मुद्दामा अदालतले जरिवाना र कैद सजाय तोकेको छ। 

सिलवाललाई एउटा मुद्दामा अदालतले ३० लाख धरौटी जफत र दुई वर्ष कैद तोकेको छ। अर्को मुद्दामा सिलवाललाई एक करोड जरिवाना र तीन वर्ष कैद सजाय तोकेको छ।

को हुन् सिलवाल?

सिलवालले आफ्नो सेयर भएको सिद्धार्थ डेभलपमेन्ट बैंकबाट करोडौं रुपैयाँ चलाएका थिए। उनले आफ्नै सेयर भए पनि सोही बैंकबाट विभिन्न कम्पनीको नाममा ऋण लिएको पाइएको थियो। 

त्यस्ता कर्जाहरूको नियमित किस्ता र ब्याज समेत नआएपछि सिद्धार्थ डेभलपमेन्ट बैंक नै घाटामा पुगेको थियो।

पछिल्लो समय राष्ट्रियस्तरको विकास बैंक बनेको भए पनि निक्षेप र कर्जा परिचालनको हिसावले सिद्धार्थ उच्च स्थानमा छ। 

सिलवालले भक्तपुरमा करिब २० रोपनी जग्गा खरिद गरी प्लटिङ गराएका थिए। सो जग्गामा उनले बिभिन्न बैंकहरूबाट करोडौं ऋण लिएर लगानी गरेका थिए। 

सिलवालले श्री गणेश जेन्टल फिल्म प्रोडक्सनसहित चार वटा फिल्म कम्पनी र करिब एक दर्जन रियलस्टेट कम्पनी दर्ता गरी कारोबार गर्दै आएका थिए।

क्यापिल मर्चेन्ट फाइनान्स बैंक डुबाउनेमा पनि उनको हात छ। किस्ट बैंकमा समेत उनको नाममा १० करोडभन्दा बढी ऋण रहेको दाबी गरिएको छ। क्यापिटल फाइनान्स जग्गा कारोबारकै कारण डुबेको थियो। उनले सो फाइनान्समा आफ्नै नाममा साढे २ करोड ओभर ड्राफ्ट कर्जा रहेको बताइन्छ। 

क्यापिटलबाट किर्ते कागजात बनाएर सिलवाललाई ऋण दिने र सिलवालको कारोवारमा साझेदार बन्ने फाइनान्सका पूर्वमहाप्रवन्धक शिवराम जोशी नायब महाप्रवन्धक शम्भुबहादुर केसी पहिले नै पक्राउ परेका थिए।


Leave a Reply

Your email address will not be published.