ट्रम्पले भने, ‘अमेरिकामा मृत्युदर सबैभन्दा कम’
निकै गम्भिर अवस्थामा पनि अमेरिकी राष्ट्रपति कुनै न कुनै ‘स्टन्ट’ गरिरहन्छन्।
कोरोना प्रभावले अमेरिका थिलोथिलो भइसक्दासमेत उनले ‘लकडाउन’को नामै लिएनन्। लामो समयसम्म् उनले मास्क लगाएनन्। लगाउनेहरुलाई पनि पागल भने।
धेरैपछि मात्रै उनले एकदिन मास्क लगाएका थिए तर, आम सर्वसाधारणलाई मास्क लगाउन आह्वान गर्नै मानेनन्।
कति बेला उनले ‘अमेरिकामा धेरै संक्रमित पत्ता लगाउन सकेकोमा गर्व लागेको’ भने।
र, अहिले फेरि भनेका छन् ‘अमेरिकामा कोरोना संक्रमणको मृत्यु अरु देशभन्दा निकै कम छ।’
अहिलेसम्म अमेरिकामा ३८ लाख ९६ हजार ८ सय ५५ जना संक्रमित भइसकेका छन् भने, १ लाख ४३ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ।
तर, ट्रम्पले यो आंकडालाई खारेज गरिदिएका छन्।
फक्स न्यूजसँगको कुराकानीमा उनले भनेका छन् ‘अमेरिकामा अरु देशको तुलनामा सबैभन्दा कम मृत्युदर छ, देशमा धेरै संक्रमितहरु भेटिएका छन् किनकि, अमेरिकाले धेरैभन्दा धेरै परीक्षण गरेको छ।’