पोखरामा टेलिकमकाे प्रादेशिक निर्देशनालय
सरकारी स्वामित्वको नेपाल टेलिकमले पोखरामा प्रादेशिक निर्देशनालय स्थापना गरेको छ।
संघीय संरचना अनुसार आइतबार साविकको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेशमा रूपान्तरण गरिएको हो।
टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले पोखरा निर्देशनालयको शुभारम्भ गरेका हुन्।
निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेज हस्तान्तरण गरेका थिए।
कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाएकोे शुभकामना सन्देश बाचन गरिएको थियो।
टेलिकमले प्रदेश १ को विराटनगर, २ को वीरगञ्ज, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, प्रदेश ५ को भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको अत्तरियामा स्थापना गर्ने निर्णय यसअघि नै गरिसकेको छ।