कैलालीको ‘श्रीलङ्का टापु’ पुग्दा…

कैलालीको ‘श्रीलङ्का टापु’ पुग्दा…

कैलालीको अत्तरियाबाट धनगढी नपुग्दै पश्चिम लाग्दा एउटा गाउँ आउँछ। जसको नाम हो, श्रीलंका टापु। 

एउटा कुनै देशसँग नाम मिल्दा यो अलि रोचक लाग्नसक्छ। तर, यहाँका बासिन्दाका पीडा अनि व्यथा अनगिन्ति छन्।

मोहना नदीले सी आकारले घेरेको छ। अघिल्तिर उत्तरपूर्व हुँदै मोहनामै मिसिने गेटी खोलाको उछाल पनि कम हुँदैन बर्खामा।

यो गाउँ सुदूरपश्चिम सरकारको मुकाम रहेको धनगढी उपमहानरपालिकामा पर्छ। तर आधारभूत आवश्यकताबाट पनि बञ्चित भएको स्थानीयको गुनासो छ। 

‘सरकारको नजरबाट ‘श्रीलङ्का’ जतिकै टाढा छौं,’ स्थानीय जीतबहादुर चौधरी भन्छन्, ‘न स्थानीय सरकारले नै हेर्दछ, नत प्रदेश र संघीय सरकारले नै।’ 

करिव तीन सय मुक्तकमैया परिवार बस्ने यो गाउँका स्थानीयको गुनासो छ–जमिनको हक दिइएन। सरकारले श्रीलंकावासीलाई २०५७÷०५८ मा जमिनको पूर्जा उपलब्ध गराएको थियो। 

‘लालपूर्जा छ। सरकारलाई कर पनि तिरिरहेका छौं। तर लालपूर्जा धितो राख्ने अधिकार छैन,’ स्थानीय दिलबहादुर चौधरी भन्छन्, ‘केही काम गरौं भने पनि पैसा छैन। जमिन धितो राख्न पाइँदैन।’

धनगढी उपमहानगरपालिका–१३ मा रहेको श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ।

धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै तीन किलोमिटर पश्चिम रहेको यो गाउँ ०५७ पछि मात्रै ‘श्रीलंका बनेको हो।

कुनै बेला मोहना नदीेले यहाँका बासिन्दालाई बर्खामा खुब दुख दिन्थ्यो।

‘होचो जमिनमा बस्ती बसाइएको थियो। मोहनामा पानीको बहाव बढ्ने वित्तिकै गाउँमा बाढी पस्थ्यो,’ स्थानीय दिलबहादुर चौधरी ती दुख सम्झदै भन्छन्, ‘सानो टापुमा गएर बस्थ्यौं, बाढीबाट बच्न हामी बस्ने टापुका कारण यो ठाउँको नामनै ‘श्रीलंका’ रहन गयो।’ 

हाल भने गाउँमा डुवानको समस्या नरहेको उनले बताए । मोहना बाट गाउँमा पानी आउने नदीको स्थानमा अहिले तट्बन्धन गरेर बाँध लगाएको छ’ उनले भने–‘तट्बन्धनपछि गाउँमा पानी आउन छोडेको छ ।’

अहिले बाढीको समस्या त टरेको छ। तर, बर्खामा पानीको निकास नहुँदा बर्खामा समस्या छ।

गाउँलाई डुबान र बाढीबाट मुक्त बनाउन गाउँकै तत्कालीन भल्मन्सा बन्धुराम चौधरीको योगदान रहेको स्थानीय तारा चौधरीले बताए। ती बन्धुरामको हाल निधन भइसकेको छ। ‘हालको गोदावरी नगरपालिका–५ स्थित मुक्तकमैया शिविरबाट श्रीलंका आएका हामीलाई यहाँ (श्रीलंका) बस्न निक्कै मुस्किल थियो,’ उनले भने–‘ तर तत्कालीन भल्मन्साले ठूलो संघर्ष गरेर लालपूर्जा प्राप्त गरेका थिए।’

मुक्तकमैया वस्तीबाट उनीहरूलाई ०५७ सालमा श्रीलंकामा सारिएको थियो। 

जीत डुवानमुक्त भएपनि वर्षाको पानी निकास नहुँदा निक्कै समस्या भएको बताए। ‘गाउँमा नाला निर्माण नगरिँदा वर्षाको पानी जमेर निक्कै समस्या भएको छ,’ उनले भने, ‘स्थानीयदेखि संघीय सरकारसँग आग्रह गर्दा पनि हाम्रो माग पूरा हुन सकेको छैन।’

करिव तीन सय परिवार बस्ने सो गाउँले स्थानीयलाई नै जनप्रतिनि बनाउन पाएको छैन। भल्मन्सा विनक चौधरी भन्छन्, ‘हामीले सबै राजनीतिक दलसँग वडा सदस्यसम्मको टिकट भए पनि उपलब्ध गराउने आग्रह गर्दा समेत कसैले विश्वास गरेन्।’  

यो टापु मोहना नदीको बाढीले नै बनाएको ८० वर्ष नाघेका वुद्धि चौधरीले बताए।  ‘एक पटक मोहनामा ठूलो बाढी आएको थियो,’ उनले भने, ‘सोही बाढीले नदीको केही यता गाउँतिर टापु बनायो। तर त्यतिवेला त्यहाँ वस्ती थिएन । अनि टापुको नाम पनि राखिएको थिएन।’  


Leave a Reply

Your email address will not be published.